कोमाका २८ नेपालीलाई स्वदेश फर्काइने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा गएर कोमा (अचेत अवस्था) मा उपचारत नेपालीलाई स्वदेशमै उपचार गरिने भएको छ । सरकारले विभिन्न देशमा कोमामा रहेका २८ नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।

वैदेशिक रोजगार बोर्डले स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने भएको छ । श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गर्ने भएको हो । कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया-मापदण्डका सम्बन्धमा सुझाब पेस गर्ने बोर्डको सचिवालयले जनाएको छ ।

अचेत अवस्थामा रहेका बिरामीलाई नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाब दिनेछ । दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएइ)लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारको तथ्यांक छ । सबैभन्दा बढि कतारमा १३ जना, साउदी अरबमा ९ जना, कुवेतमा ४, युएई र दक्षिण कोरियामा एक÷एकजना रहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रहेको बिरामीलाई स्वदेश ल्याउन पहल थालेका थिए । शुक्रबार मन्त्री विष्टले शिक्षण अस्पताल महाराजगञ्ज, वीर र पाटन अस्पतालको निर्देशक तथा स्वास्थ्य मन्त्रालयका सचिवसँग कोमाका रहेका नेपालीलाई स्वदेश ल्याएर उपचार गर्ने सम्बन्धमा छलफल पनि गरेका छन् । परिवारको सदस्य विभिन्न मुलुकका अस्पतालमा लामो समयदेखि अचेत अवस्थामा हुँदा सिंगो परिवार नै आर्थिक तथा मानसिक रूपमा प्रभावित हुँदै आएका छन् ।

त्यसैगरी, बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका ११४ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । उनीहरूलाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले रु छ करोड ६६ लाख विनियोजन गरेको छ । यसअघि करार अवधिमा विदेशमा मृत्यु भएका कामदारका परिवारले मात्र आर्थिक सहायता प्राप्त गर्दै आएका थिए । सरकारले कानुन संशोधन गरेरै करारअवधिभित्र बिरामी भई स्वदेशमा उपचारका क्रममा मृत्यु भएमा वा बिदामा फर्किएको बेला मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

बैठकले साउदीमा भएको एक दुर्घटनाका क्रममा शव साटफेर भएको घटनाका पीडितलाई पनि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सोही दुर्घटनामा परी जीवितै रहेका भनिएका मृतक बागलुङका तजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने र मृत्यु भएको भनिएका (जो पछि जीवितै फर्किए) झापाका सुवास तामाङको परिवारले बुझेको आर्थिक सहायतालाई उपचार खर्चमा रूपान्तरण गर्ने निर्णयसमेत गरेको छ ।

बाग्लुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेबियामा मृत्यु भएको थियो । अस्पतालले शव पठाउँदा भण्डारीको शवलाई मोरङका सुवास तामाङ भनी पठाएकोे थियो । सुवासको परिवारले तामाङ संस्कारअनुसार दाहसंस्कार गरी नियमानुसार सचिवालयबाट आर्थिक सहायतासमेत प्राप्त गरिसकेपश्चात् उनी जीवितै नेपाल फर्किएका थिए । बैठकले राहदानीमा ‘मृतक’ भनी छाप लागेका र मृत्यु दर्तासमेत भइसकेको अवस्थामा सुवास जीवितै फर्किएकाले उनलाई पुनः नागरिकतालगायत अन्य कागजात उपलब्ध गराउन श्रम मन्त्रालयमार्फत सरकारसँग सिफारिस गर्ने निर्णयसमेत गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया