३० वर्षमा ५ सन्तान, कोही जाँदैनन् विद्यालय

हिजोआज बिहे गर्ने उमेर बढ्दै गएको छ । केही समय अघिसम्म सरकारले ‘बिहेवारी बिस वर्ष पारी’ भनेर सन्देश सुनाउँथ्यो । त्यो पनि अहिले सुनिन छोडेको छ । मान्छेमा सानै उमेरमा बिहे गर्न हुँदैन भन्ने भावनाको विकास भएकाले तीस बत्तीस वर्ष नभै बिहे गर्न छाडेका छन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता पनि स्थापित भइरहेको छ । तर, मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमासमेत बनिन् ।

झट्ट हेर्दा ४०-४५ वर्ष पार गरेको जस्ती देखिन्छिन् उनी । यो उमेरमै पाँच सन्तान पाइसकेकी मैयाँ फेरि पनि गर्भ बसेको पो छ कि भन्ने शंका मेट्न छिमेकी गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णु लुंगेलीसँग आफ्नो गाउँ गाहाबाट पाँच घण्टा पैदल हिँडेर बागमती–२ को राईगाउँ स्वास्थ्य चौकी आएकी हुन् । परीक्षणपछि गर्भ नरहेको थाहा पाएर खुसी भएकी मैयाँँलाई अब छैठौँ सन्तान जन्माउन मन छैन । ‘जन्माएर मात्रै के गर्नु ? पेटभरी खान पुग्दैन,’ मैयाँले भनिन् ।

अत्यन्तै डरलाग्दो भिर, वनको बाटो र गहिरो दह तरेर विद्यालय भएको गाउँ जानुपर्ने हुँदा जो कोही पढ्न जाँदैनन् । विद्यालय भएको गाउँ जान र त्यहाँबाट आउन पनि नसक्ने हुनाले त्यहाँका मानिसहरू पढ्न र लेख्नबाट वञ्चित रहेका स्वयंसेविका विष्णु लुंगेली बताउँछिन् । मैयाँको गाउँमा थोरै घरहरू भएकाले त्यहाँ विद्यालय पनि नभएको उनको भनाइ छ

आफूसँग चार कठ्ठा मात्र जमिन रहेको र त्यो पनि भिरालो खोरिया भएकाले वर्षमा एक बाली मकै मात्र उब्जाउ हुने उनले बताइन् । ‘त्यति बारीमा फलेको मकै पोलेर खाँदा ठिक्क हुन्छ, अलिअलि बचेको बढीमा दुई महिनासम्म ढिँडो र खोले खान पुग्छ, त्यसपछि भने गिठ्ठा, घुँगी, गंगटा, माछाजस्ता चिजबिजले गुजारा टार्नुपर्छ,’ उनले भनिन्, ‘यसपालि त पानी नपरेर मकै पनि छैन । के खाने थाहा छैन । बुढा ईंंटा भट्टामा काम गर्न भनेर गाछन् । काम गरेर कमाउन सकेर केही ल्याए भने खाउँला ।’

१३ वर्षको उमेरमा संसरे पहरीसँग विवाह भएपछि छिमेकी दोभान गाउँबाट मैयाँ श्रीमान्को गाउँ गाहा आइन् । स्कुल नै नटेकेकी मैयाँ र संसरेको जोडी बागमतीमा माछा मार्ने र त्यो माछा सुकाएर बेच्ने गथ्र्यो । जेठो छोरो उमेशको जन्म भएपछि भने मैयाँले माछा मार्न छाडिन् । पहिलाजस्तो कहाँ छ र बागमतीमा माछा पाउनै छोडेपछि संसरेले पनि माछा मार्ने काम छोडे । उमेशपछि तीन वर्षको अन्तरमा माइलो सन्तानको रूपमा छोरी कालीको जन्म भयो । त्यसको तीन वर्षमा मीना अनि, अर्को दुई वर्ष पछि राजेश र अन्तिममा पुड्के जन्मियो ।

मैयाँको सबैभन्दा कान्छो छोरो पुड्के अहिले पाँच वर्षमा हिँडिरहेका छन् । उमेरले त पुड्के अबे विद्यालय जाने वेला भयो तर, उनी विद्यालय जाँदैनन् र जाने कुरा पनि छैन विद्यालय जानका लागि उनीहरूसँग न कुनै पनि आवश्यक कुरा छैन । पुड्के मात्रै होइन, मैयाँका अन्य पाँचै जना सन्तान विद्यालय जाँदैनन् । न मैयाँले नै लेख्न, पढ्न जानिन् न सन्तानलाई पढाउने बारेमा बुझेका छन् । उनका पति संसरे पनि पढ्न जान्दैनन् । उनीहरू मात्रै होइन, उनको गाउँका कसैलाई पनि लेख्न र पढ्न आउँदैन भन्छिन् मैयाँ ।

अत्यन्तै डरलाग्दो भिर, वनको बाटो र गहिरो दह तरेर विद्यालय भएको गाउँ जानुपर्ने हुँदा जो कोही पढ्न जाँदैनन् । विद्यालय भएको गाउँ जान र त्यहाँबाट आउन पनि नसक्ने हुनाले त्यहाँका मानिसहरू पढ्न र लेख्नबाट वञ्चित रहेका स्वयंसेविका विष्णु लुंगेली बताउँछिन् । मैयाँको गाउँमा थोरै घरहरू भएकाले त्यहाँ विद्यालय पनि नभएको उनको भनाइ छ । लुंगेलीका अनुसार गाहामा पाँच सात घरहरू मात्र छन् । मानिसहरू सानै उमेरमा विवाह गर्छन् । बालबच्चाहरू पनि धेरै जन्माउँछन् । गाहामा बाल मृत्युदर पनि उच्च रहेको उनको अनुमान छ ।

मानिसहरू धामी झाँक्रीमा विश्वास गर्छन् । आफ्नो माइती पनि गाहा नजिक भएकाले एकपटक बाटोमा मैयाँसँग भेट भएको उनले बताइन् ।
पाँच बच्चा छन् भनेको सुनेपछि आफूले स्वास्थ्य चौकी आउन अनुरोध गरेको र परिवार नियोजनको सल्लाह दिएको बताउने लुंगेलीकै सहकर्मी सुन्तली ढुंगानाले स्वास्थ्य चौकी आएकी मैयाँलाई बन्ध्याकरण गर्न सुझाएकी थिइन् ।

परिवार नियोजनका साधनहरूबारेमा जानकारी पनि लिएर फर्किन् । स्वास्थ्यकर्मी ढुंगानाको परामर्शपछि मैयाँ स्थायी बन्ध्याकरण नगरे पनि तीन महिने सुई लगाउन सहमत भइन् । पछि बिरामी परेपछि सुईकै कारण बिरामी भएको भन्दै श्रीमान्ले सूई लगाउन स्वास्थ्य चौकी जान नदिएपछि मैयाँले सुई लगाउन छाडिन् । यसै क्रममा गर्भ बसेको शंका मेटाउन मैयाँ स्वास्थ्य चौकी आएकी हुन् । ‘उनलाई सुगर भएको र’छ, अहिले नियमित औषधि सेवनले जाती भएको छ,’ लुंगेलीले भनिन् ।

नेपाली भाषामा राम्रोसँग कुराकानी गर्नसम्म नसक्ने मैयाँ छोराछोरीलाई भने पढाउन र टाठाबाठा बनाउन चाहन्छिन् । ‘हाम्रो जिन्दगी त यस्तै भइगयो, छोराछोरीले दुःख नपाए हुन्थ्यो,’ उनी भन्छिन्, ‘पढाइदिने मान्छे पाए पढ्न पठाउँथेँ । कसले पढाइदेला र ? पाँच बच्चा छ ।’ आफ्नो जस्तो कष्ठकर जिवन छोराछोरीले नभोगुन भन्नेमा उनी सचेत छिन् । तर, कसरी छोराछोरीको भविष्य राम्रो बनाउने उनीहरूसँग आधार भने छैन ।

मैयाँको समस्या सुनेपछि गाउँपालिका अध्यक्ष सर्केश घलानले बच्चाले पढ्न पाउने आश्वासन दिए । ‘के गरेर हुन्छ हामी उनीहरूलाई पढ्ने वातावरण मिलाउछौँ,’ घलानले भने । कतिपय अवस्थामा बालबच्चाहरू छात्रावासमा बसेर पढ्न गाह्रो मान्ने र भाग्ने गरेको उनको भनाइ छ । गाहा र आसपासको समस्या समाधानका लागि उपायको खोजी गरिरहेको घलानले बताए ।

घलानका अनुसार पूर्वी बागमतीको भिरमा स–सानो बस्ती बनाएर अल्पसंख्यक समुदाय बस्ने गरेको र त्यहाँ ठूलो समस्या रहेको छ । उनले भने, ‘त्यहाँ जो कोही जान सक्दैन । म पनि जान सकेको छैन । वडाध्यक्ष पनि पुग्नुभा छैन । अब चाँडै नै पुग्ने योजना छ ।’ गाहा र आसपासको भौगोलिक विकटतासँगै त्यहाँ प्रचलित किंवदन्तीहरू र थुप्रै अलौकिक र अन्धविश्वासपूर्ण भनाइहरूसमेत रहेकाले हत्तपत्त त्यहाँ कोही नजाने घलान बताउँछन् । स्थानीय धामी झाँक्रीहरू पनि त्यस क्षेत्रमा वन देवता, वनझाँक्री, प्रेतात्माहरू रहेको दाबी गर्छन् । यी सबै कुरालाई चिर्दै उनका सन्तानले पढ्ने र संसार बुझ्ने अवसर कहिले पाउने हो थाहा छैन ।

प्रतिक्रिया