जापानसँग रोकियो उरुग्वे

एजेन्सी, अमेरिका । कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २–२ गोलको बराबरीमा रोकिएको छ । ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । जापानले खेलको २५औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए । तर त्यसको ५ मिनेटमा नै उरुग्वेले गोल फर्कायो । नाओमिची उएडाले पेनाल्टी क्षेत्रभित्र एडिन्सन काभानीलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुइस सुआरेजले सहजै गोल गरे । खेल बराबरीमा ल्याएको दुई मिनेटमै उरुग्वेले अग्रता लिने अवसर गुमायो ।

काभानीले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्केपछि खेल १–१ को स्थितिमा रहयो । त्यसअघि खेलको सुरुवाती समयमा पनि काभानीको प्रहारलाई जापानी गोलरक्षक एजी कवाशिमाले बचाएका थिए । दोस्रो हाफको ५९औं मिनेटमा जापानले पुनः अग्रता लियो । गोलरक्षक फर्नान्डो मुस्लेराले सहज क्रसलाई सम्हाल्न नसक्दा फर्केर आएको बललाई मियोशीले गोलमा परिणत गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसको केहि मिनेटमा नै सुआरेजले गरेको शक्तिशाली प्रहारलाई कावाशिमाले विफल पारे । ६६औं मिनेटमा उरुग्वेका निकोलस लोडीएरोको कर्नरमा जोसे जिमिनेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ८०औं मिनेटमा उरुग्वेको गोल गर्ने मौकामा क्रसबार बाधक बन्यो । मार्टिन कसेरेसको क्रसमा गोलरक्षक बिट भएको अवस्थामा  सुआरेजको हेडर क्रसबारमा लगेर फर्कियो ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र उरुग्वेले अंक बाँड्न बाध्य भयो । यस बराबरीसँगै उरुग्वे २ खेलमा ४ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा छ । जापानले भने पहिलो अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । १ खेल खेलेको चिली ३ अंकसाथ दोस्रो र अंकविहिन इक्वेडर पुछारमा छ ।

प्रतिक्रिया