हात्तीलाई दिएको यातना अन्तर्राष्ट्रियकरण

पशु अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था पेटाले चितवनमा हात्ती महोत्सवको पछिल्लो संस्करणमा कतिपय हात्तीलाई ‘यातना’ दिइएको खुलासा गरेको छ ।

पेटाले बिबिसी नेपालीलाई उपलब्ध गराएको एउटा भिडिओ फुटेजमा माहुतेहरूले केही हात्तीलाई हिर्काएको र तीखो अस्त्रले रगत आउने गरी घोचेको देखिन्छ । तर, महोत्सवका एक आयोजकले ‘ठूलो घटना नभएको’ र त्यसमा संलग्न माहुते तथा हात्तीका मालिकलाई आइन्दा त्यसो नगर्न भन्दै ‘सचेत गराइसकिएको’ प्रतिक्रिया दिएका छन् ।

घटनाबारे थाहा भएपछि महोत्सवका प्रमुख प्रायोजक गोर्खा ब्रुअरी र सहप्रायोजक जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आफूहरू सो महोत्सवबाट अलग भएको बताएका छन् ।

के हो हात्ती महोत्सव ?
पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ हरेक वर्ष चितवनमा हात्ती महोत्सवको आयोजना गरिँदै आएको छ । महोत्सवमा हात्तीहरूको वनभोज, फुटबल, पोलो, दौड र हात्ती सुन्दरीलगायतका कार्यक्रमको आयोजना गरिन्छ ।

सौन्दर्य प्रतियोगिताका लागि हात्तीहरूलाई कपडा र विभिन्न रंगले सिँगार्ने गरिएको छ । सन् २०१८ को डिसेम्बरको अन्तिम हप्तामा चितवनको सौराहामा १५औँ हात्ती महोत्सवको आयोजना गरिएको थियो।क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सन् २००५ मा पहिलोपटक अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताको रूपमा आरम्भ गरिएको थियो ।

त्यसपछि क्रमशः सन् २०१० देखि त्यसले महोत्सवको रूप लिँदै गयो र विभिन्न विधा थपिँदै गयो । क्षेत्रीय होटल संघ सौराहाको नेतृत्वमा हात्ती महोत्सवको आयोजना हुँदै आएको छ । हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडमार्फत् निजी हात्तीलाई महोत्सवमा सहभागी गराइँदै आएको छ ।

घटना के हो ?
पेटाले बिबिसी नेपाली सेवालाई झन्डै छ मिनेट लामो भिडिओ उपलब्ध गराएको छ । पेटाकी लन्डनस्थित विशेष आयोजना संयोजक निराली शाहले भिडिओ फुटेज हात्ती महोत्सवको तयारी र महोत्सवका क्रममा खिचिएको बिबिसीलाई बताइन् । गत वर्ष औपचारिक महोत्सव डिसेम्बरको २६ देखि ३० तारिखसम्म चलेको थियो ।

अनारकली नाम गरेको हात्ती ‘कार्यक्रम अवधिभरि माहुतेबाट कुटिएको’ र ‘सम्भावित संक्रमण अथवा चोटका कारण’ उक्त महोत्सवको अन्तिम दिन त्यसको आँखाबाट आँसु झरेको देखिएको पेटाले जनाएको छ ।

हात्तीको आँखाबाट आँसु झरेको दृश्य भिडिओ फुटेजमा पनि स्पष्ट रूपमा देखिन्छ । एकजना माहुतेले एउटा हात्तीको टाउकोमा झन्डै एक मिनेटको अवधिमा ६ पटकसम्म हिर्काएको भिडियोमा देखिन्छ ।

पछि माहुतेले जस्तै हात्तीमा सवार एक बालकले पनि हात्तीलाई हिर्काएको देखिन्छ । त्यस्तै, नजिकैको एउटा छावालाई माहुतेले हिर्काएको देखेर एक बालिका त्यसबाट स्तब्ध भएको देखिन्छ । पेटाका अनुसार केही प्रत्यक्षदर्शीले हात्तीको जीउमा खतका साथै ताजा घाउ पनि देखेको बताएका थिए ।

घटनापछि आफूहरूले आयोजकलाई त्यसबारे जानकारी गराएको पेटाकी विशेष आयोजना संयोजक शाहले बिबिसीलाई बताइन् ।
प्रायोजक के भन्छन् ?

हात्तीहरूप्रति दुव्र्यवहार गरिएको घटनाप्रति महोत्सवका आयोजकले आपत्ति जनाएका छन् । त्यसलाई लिएर महोत्सवको प्रायोजनबाट आफूहरू अलग भएको प्रमुख प्रायोजक गोर्खा ब्रुअरीका एक उच्च पदाधिकारीले बिबिसीलाई बताए ।

कम्पनीका उपप्रबन्धनिर्देशक सुरेन्द्र सिलवालले भने, ‘प्रचारका निम्ति कुनै पनि जीवजन्तुलाई दुःख दिने कुरामा सिद्धान्ततः हामी सहमत हुन सक्दैनौँ । त्यही विषय हात्तीलाई ’यातना’ दिएकोे लाई लिएर हामी प्रायोजनबाट अलग भएका हौँ ।’

‘हाम्रो प्रचारको शैली फरक भए पनि जनावरहरूले गर्ने प्राकृतिक बाहेकका क्रियाकलाप गराउने गतिविधिमा हामी संलग्न हुँदैनौँ ।’ महोत्सवको सहप्रायोजक जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत शशिन जोशी पनि त्यस्तै धारणा राख्छन् ।

‘हाम्रो व्यावसायिक नीतिले जनावरलाई यातना दिने अथवा दुर्व्यवहार गर्ने कुरालाई अनुमति दिँदैन ।’ उनले थपे, ‘पहिला हामीलाई त्यसबारे थाहा थिएन थाहा हुनासाथ कार्यक्रम चल्दै गर्दा हामीले प्रायोजनबाट हात झिक्यौँ ।’

आयोजक के भन्छन् ?
हात्ती महोत्सवको आयोजना गर्दै आएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष र महासचिव दुवै जनाले घटनासम्बन्धी भिडियो हेरेको बिबिसीलाई बताए । यद्यपि, संघका अध्यक्ष सुमन घिमिरे र महासचिव राममणि खनालले केही विरोधाभासपूर्ण कुरा गरे ।

घिमिरे भने, ‘घटनाबारे हामीले हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडलाई छानबिनका लागि माग पनि गरेका छौँ ।’ संघका महासचिव खनालसँग बिबिसीले सम्पर्क गर्दा उनले घटनामा संलग्न माहुते र हात्ती मालिकको पहिचान गरिसकिएको बताए ।

खनालले भने, ‘मैले सबै कुरा तपाईंलाई भन्न मिल्दैन । पहिचान भएर हामीले उनीहरूलाई सचेत गराइसकेका छौँ ।’ अध्यक्ष घिमिरेले तथा महासचिव खनाल दुवैले जनावरप्रति गरिने व्यवहारलाई लिएर आफूहरू सचेत रहेको र हात्तीलाई दुःख नहोस् भन्दै महोत्सवलाई परिष्कृत गर्दै लगेको बताए ।

मानिसहरूले हात्तीलाई विभिन्न खानेकुरा दिने हात्ती वनभोज कार्यक्रमलाई त्यसैको एउटा पाटोको रूपमा उनीहरूले अथ्र्याए । संघका अध्यक्ष घिमिरेले हात्तीलाई घोचेको घटनामा षड्यन्त्र भएको हुन सक्ने आशंका पनि व्यक्त गरे ।

‘त्यो कताकता प्रायोजित पनि हुन सक्छजस्तो हामीलाई लाग्छ । माहुतेहरूलाई गर्न लगाएको हुन सक्छ भन्ने हामीलाई शंका छ ।’ भिडिओ फुटेज र त्यसमा देखिएको दृश्यलाई चाहिँ झुटो भन्न नसकिने घिमिरेले स्वीकारे । उनले भने, ‘महोत्सवमा हामीले माहुतेलाई अंकुश वा लठ्ठी प्रयोग गर्न दिने गरेका छैनौँ । भिडिसोमा सिसाकलमजस्तो तीखो चिजले जसरी घोचेर यातना दिइएको छ त्यो हामीलाई पनि स्वीकार्य छैन ।’

हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारीले उक्त घटना अथवा भिडियोबारे आफूहरूलाई कुनै जानकारी नभएको बिबिसी बताए । ‘यातना’ को घटनाबारे छानबिनका लागि महोत्सव आयोजकले माग गरेको विषयमा जिज्ञासा राख्दा तिवारीले भने, ‘महोत्सवका क्रममा खेलस्थलमा हात्तीलाई पिटेको देखेर हामीलाई कुनै उजुरी आएको छैन ।’

हात्तीलाई दुःख नहोओस् भनेर क्रमिक रूपमा सुधारका कदम पनि चाल्दै आएको उनी बताउँछन् । ‘पहिला पहिला हात्तीहरूलाई सफारीका लागि दैनिक सात-आठ पटक पठाउने गरेकोमा तिनीहरूलाई पेलान नहोस् भनेर अहिले चारपटक मात्रै पठाउने गरेका छौँ ।’

नेपालको कानुनले के भन्छ ?
नेपालमा ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन’ छ । तर जनावरप्रति कस्तो व्यवहार गर्ने भन्ने विषयमै कुनै ऐन, कानुन नरहेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन वेदकुमार ढकाल बताउँछन् ।

ढकाल भन्छन्–हात्ती महोत्सवमा हात्तीको दुरुपयोग भएको भन्दै आवाज उठ्ने गरेको छ । ‘त्यसको महोत्सवकोे नियमन कसरी गर्ने भन्नेबारे कुनै नीति, नियम पनि नभएर हाम्रो कुनै सहभागिता हुन सकेको छैन ।’

हात्तीप्रति गरिने व्यवहारको खासगरी पशु अधिकारकर्मीबाट आलोचना हुने भएकोले पनि निकुञ्जले महोत्सवमा औपचारिक सहभागिता नजनाएको हुन सक्छ । ‘पर्यटन प्रवद्र्धनमा महोत्सवले पु¥याएको योगदानप्रति हामी सकारात्मक हो । अरू हिसाबले हाम्रो खासै सहभागिता छैन,’ ढकालले थपे ।

पशु अधिकारकर्मीहरू पशुप्रति गरिने व्यवहारबारे नेपालले आवश्यक कानुन ल्याउन अब ढिलो भइसकेको तर्क गर्छन् ।

प्रतिक्रिया