काठमाडौं । बाँसगढी नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । आइतबार भएको खेलमा बाँसगढीले शम्भुनाथ नगरपालिकालाई १९–० फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपीएफको मैदान हलचोमा बाँसगढीलाई जित दिलाउन डिफेन्डर पूजा रानामगर एक्लैले १० गोल गरिन् ।
सुरक्षा सुखरिया र लक्ष्मी चन्दले ह्याट्रिक गरे भने गोलकिपर अन्जना राना मगरले २ गोल गरिन । अर्को एक गोल नानुमाया क्षेत्रीको नाममा रह्यो । जितपछि समूह ’ए’ मा रहेको बाँसगढीले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा बाँसगढीले तुल्सीपुर उप महानगरपालिकासंग बराबरी खेल्दै अंक बाडेको थियो भने शम्भुनाथले अघिल्लो खेलमा वालिङ नगरपालिकासँग ११–० ले पराजित भएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा जारी प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ । सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन ।
तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १० हजार पाउने छन् ।
प्रतिक्रिया