अगस्टमा स्क्रिप्ट लेखन

काठमाडौं । नेपाली चलचित्रलाई बौद्धिक बहससँगै व्यवस्थित ढंगले व्यवसायिक बनाउने लक्ष्यका साथ स्क्रिप्ट लेखन कार्यशाला हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आगामी अगस्ट २१ देखि २६ सम्म सिनेमाको स्क्रिप्ट लेखन कार्यशाला गर्ने जनाएको छ । मकवानपुरको इन्द्रसरोवर, कुन्साल र चित्लाङमध्ये कुनै एक स्थानमा पटकथा लेखन कार्यशाला गर्ने प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका संयोजक केपी पाठकले जानकारी दिए ।

उनले भने, ‘नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्य राखेर अनुभवी फिल्म लेखकहरूबाट प्रशिक्षण दिइनेछ । नेपालमा यसको आवश्यकताको महशुस गरेरै हामीले कार्यशालाको आयोजना गर्न लागेका हौं ।’ उनका अनुसारमा कार्यशालामा ६० जनालाई सहभागी गराउने योजना रहेको छ । उक्त कार्यशालामा हलिउड, बलिउड र चाइनिज सिनेमा लेखकको उपस्थितिमा हुने अध्यक्ष पाठकले बताए । कार्यशालामा सहभागी हुनका लागि नेपाली लेखकले १० हजार र विदेशीले एक सय ५० डलर शुल्क तिर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

कार्यशालामा सहभागी सबैले उक्त अवधिभरमा कुनै एउटा कथा लेख्नुपर्ने सहजकर्ताको रूपमा रहेकी सम्पदा मल्ल बताइन् । उनले भनिन्, ‘लेखक प्रायः अगाडि आउँदैनन्, तर उनीहरूको इफोर्ट सफलतामा कोहीभन्दा कम हुँदैन ।’

लेखकको स्किललाई थप परिमार्जितसहित सिर्जनशील बनाउने कार्यशालाको उद्देश्य रहेको बताउँदै मल्ले भनिन्, ‘नेपाली चलचित्रत्र लेखनमा रहेको कमीलाई सुधार्दै अगाडि बढाउनुपर्छ र हामी अपडेट हुनु जरुरी छ जस्तो लाग्छ ।’ सहभागीले कार्यशाला सकिएको दुई हप्ताभित्र पूर्ण स्क्रिप्ट बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । प्राप्त स्क्रिप्टमध्येबाट उत्कृष्ट हुने एकलाई लघु सिनेमा निर्माणको लागि प्रतिष्ठानले एक लाख नगद प्रदान गर्ने कार्यक्रम संयोजक पाठकले बताए ।

आयोजकका अनुसार यसरी बनेको सिनेमालाई नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को तेश्रो संस्करणमा सहभागी गराइनेछ ।
त्यस्तै, दुई वर्षदेखि आयोजना भइरहेको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को तेस्रो संस्करण फागुन १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने निफको तेस्रो संस्करणमा अवार्ड विजेतालाई प्रदान गरिने पुरस्कारको राशिसमेत वृद्धि गरिएको छ ।

प्रतिक्रिया