काठमाडौं । न्युरोड टिम एनआरटीले चौंथो संस्करणको ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटोमा बुधबार भएको खेलमा भ्याली च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुआत गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एनआरटीलाई जित दिलाउन रिजन माझी, क्रितिश रत्न छुन्जु,सुजन शर्मा धिताल र विवेक राईले एक एक गोल गरे । च्यासलका सिराब लो तामाङले एक गोल फर्काए ।
खेलको पहिलो मिनेट मै रिजनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औँ मिनेटमा सिराबको गोलबाट च्यासल खेलमा फर्किएको थियो । दोस्रो हाफमा एनआरटीले लगातार ३ गोल गर्यो । खेलको ५४औँ मिनेटमा क्रितिसले गोल गर्दै एनआरटीको अग्रता २–१ को बनाए । खेलको ८१औँ मिनेटमा सुजनले गोल गर्दै एनआरटीको अग्रता ३–१ को बनाए ।
त्यसपछि खेलको ८७औं मिनेटमा विवेकले गोल गर्दै एनआरटीलाई ४–१ को सहज जित दिलाए । जितसंगै समूह ’ए’ को एनआरटीले महत्वपूर्ण ३ अंक जोडेको छ । च्यासलले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब , ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक वर्ष उमेर समूहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया