पाण्डेले एन्फा छाडे

काठमाडौं । ‘चेन्ज एन्फा’ अभियानका महत्वपूर्ण सदस्य तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का अन्तराष्ट्रिय विभाग प्रमुख तथा अध्यक्ष कर्माछिरिङका सल्लाहार नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय एन्फा नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका उनले केही महिना अघिबाटै जिम्मेवारीमा नरहेपनि त्यसको औपचारिक घोषणा सोमबार गरेका हुन् । पाण्डेले राजीनामा पत्र एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका हुन् ।

एक वर्षअघि २२ वैशाखमा भएको एन्फाको निर्वाचनबाट एन्फा नेतृत्वमा कर्माछिरिङ शेर्पा निर्वाचित हुने बित्तिकै कार्यसमितिको पहिलो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । आफ्ना योजना र सल्लाह नेतृत्वले बेवास्ता गरेको भन्दै उनी पछिल्लो समय एन्फासँग रुष्ट रहँदै आएका थिए । पछिल्लो समय एन्फा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका पाण्डेले अन्तर्राष्ट्रिय विभाग प्रमुख र एन्फा अध्यक्षको सल्लाहकार पदबाट राजीनामा दिएको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजीनामा पत्रमा पाण्डेले फुटबलको सेवा गर्ने मौका दिएकोमा एन्फालाई धन्यवाद दिँदै नेपाली फुटबललाई समर्थन गर्ने आफ्नो अठोट जीवनको एउटा अंग भएको उल्लेख गर्दै उनले आफू जहाँ भएपनि फुटबललाई सहयोग गरिरहने उल्लेख गरेका छन् । उनले सबैलाई नजिकबाट चिन्न पाएको आफू धन्य रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया