प्रदेश–तीन पराजित

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनलाई १ सय १७ रनले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

आर्मीले अब फाइनल खेलमा नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको ३ सय १० रनको विशाल लक्ष्य पछ्याउने क्रममा प्रदेश तीनले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ९२ रन बनायो ।

प्रदेश तीनका लागि इशान पाण्डेले अर्धशतकीय पारी खेले । १ सय १७ बल खेलेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ७९ रनको योगदान गरे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन यादवले १८ र आदिल खानले १५ रनको योगदान गरे ।

बलिङतर्फ आर्मीका लागि सहमेद आलमले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा सुशान्त भारी, रोहित कुमार पौडेल र कुशल मल्लले समान एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ९ रन बनाएको थियो ।

आर्मीका लागि विनोद र राजुले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका विनोदले ५ चौका र ५ छक्काको सहयोगमा ७५ रन बनाए । त्यस्तै ८६ बल खेलका राजुले ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । आर्मीका लागि रोहित कुमार पौडेलले ४३ रन जोड्दा हरि चौहानले ३८, राजेस पुलामी २९, कुशल मल्ल २६ र करण केसीले २१ रनको योगदान गरे । बलिङतर्फ प्रदेश तीनका लागि नन्दन यादव र जितेन्द्र ठाकुरले समान दुई–दुई विकेट लिए । त्यस्तै पारस खड्का र सोनु देवकोटाले समान एक–एक विकेट लिए ।

प्रतिक्रिया