प्रमुख प्रशासकीय अधिकृत थापाको निधन

धादिङ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर थापाको न्यून रक्तचापका कारण बुधबार निधन भएको छ ।

गोर्खा जिल्ला घर भई विगत दुई वर्षदेखि नै बेनिघाट रोराङ गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत ५४ वर्षीय थापा बुधबार बिहान न्यून रक्तचापका कारण अस्वस्थ भएपछि स्वास्थ्य परीक्षणका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु आएका थिए ।

यसअघि आफूलाई उच्च रक्तचापको समस्या देखिने गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत थापा स्वयं आफूलाई मंगलबार साँझदेखि नै देब्रे छाती अत्यन्तै दुखेको र श्वासप्रश्वासमा समेत समस्या भएको भन्दै राजमार्ग सामुदायिक अस्पताल मलेखु आएको अस्पताल स्रोतले बताएको छ ।

स्रोतका अनुसार अधिकृत थापालाई उच्च रक्तचापको समस्या नभई न्यून रक्तचापको समस्या देखिएको र उपचार गराउन आउनुभन्दा करिव ६-७ घण्टा पहिल्यैदेखि हृदयघात भएको देखिएको थियो । सोहीकारण उनलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पठाइएको थियो ।

गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीका अनुसार अधिकृत थापाको उपचारका लागि नर्भिक अस्पताल पु¥याइएपछि निधन भएको पुष्टी भएको थियो ।

प्रतिक्रिया