भदौबाट नेकपाको जिल्ला अधिवेशन !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एकता लगत्तै जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ । एकता भएको एकवर्ष पुगिसक्दा पनि पूर्णता नपाइरहेको अवस्थामा मंसिरसम्म अधिवेशन सक्नेगरी तयारी थालेको हो ।

केही समयअघि मात्र जिल्लाको एकता सकेको नेकपाले सचिवालय बैठकमा अधिवेशन गर्ने छलफल अगाडि बढाएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सिन्धुलीमा शनिबार नेता कार्यकर्तासँग बोल्दै उनले अहिले गठन भएका कमिटीको भदौदेखी मंसिर भित्र जिल्ला अधिवेशन गराउने गरी तयारी भईरहेको जानकारी दिए ।

उनले पार्टी सचिवालयले अब महाधिवेशनतर्फ आफ्नो ध्यान केन्द्रित गरिरहेको पनि उल्लेख गरे । ‘भदौंबाट जिल्ला अधिवेशनमा जानुपर्छ भन्ने मोटामोटी सहमति भएको छ’, उनले भने,‘भदौदेखि मंसिरसम्म ७७ जिल्लाको र अरू पनि कमिटीको अधिवेशन सक्न पाइयो भने त्यसपछि महाधिवेशनतिर केन्द्रित हुने भनेर हामी सोच्दैछौँ ।’

नेकपाको अहिलेसम्म अधिकांश तहमा एकता भइसकेको छ । पोलिटब्युरो गठन र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी बाँडफाँड हुन बाँकी छ । विशेषगरी पूर्वमाओवादीमा समस्या देखिएपछि पोलिटब्युरो गठन हुन सकेको छैन । त्यसका लागि आइतबार बिहान सचिवालयको बैठक बोलाइएको छ । सो सचिवालय बैठकले एकताका बाँकी सबै काम सक्ने बताइएको छ । अध्यक्ष प्रचण्डले पनि एकताका काम आइतवार बस्ने सचिवालय बैठकले सक्ने जानकारी समेत दिएका छन् ।

एकता टुंगो लगाएसँगै नेकपाले सातै प्रदेशमा प्रदेशस्तरिय सभा गर्ने भएको छ । पार्टी एकतापछि कुनै सभा नगरेको नेकपाले एकताको सन्देश दिन र आफुबिरुद्ध फैलाएको भ्रम चिर्नका लागि सभागर्न लागेको हो । सभालाई शीर्ष नेताले सम्वोधन गर्ने तयारी समेत भइरहेको छ । अध्यक्ष प्रचण्डले एकता टुंगिएपछि सातै प्रदेशमा केन्द्रीयस्तरका नेताबाट सम्वोधन गर्ने कार्यक्रम तय हुने बताए । एकताको सन्देश दिनका लागि सातै प्रदेशमा केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम तय हुने भनाई राखे ।

प्रतिक्रिया