चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

दाङ । आठौँ राष्ट्रिय खेलकूद अन्तर्गत महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । दाङको बेलझुण्डीमा बिहीबार चन्द्रकलाले १२ दशमलव ४ मिटर सटपुट फाल्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको ११.५६ मिटरको कीर्तिमान भंग गरेकी हुन् । राष्ट्रिय कीर्तिमान बनाएसँगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन् ।

यस स्पर्धामा प्रदेश पाँचकी संगीता अधिकारीले १०.१५ मिटरका साथ रजत जित्दा पुलिसकी बसन्ती चौधरीले १०.०५ मिटरसहित कास्य जितिन् । सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जिते । उनले १२.१९ मिटर सटपुट फाल्दै स्वर्ण हात पारे । यस्तै १२.०४ मिटरका साथ पुलिसका पुष्कल शर्माले रजत र आर्मीका चित्रबहादुर वलीले ११.८५ मिटरका साथ कास्य पदक जिते । महिलाको १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले स्वर्ण पदक जितेकी छिन् । विश्वरुपाले निर्धा्रित दुरी ३७ मिनेट ३०.८९ सेकेण्डमा पुरा गरिन् ।

यस्तै, पुलिसकी राज पुरा पँछाईले ३७ मिनेट ३०.९२ सेकेण्डको समयसहित रजत र प्रदेश २ की सन्तोषी श्रेष्ठले ३७ मिनेट ५०.५३ सेकेण्डसहित कास्य पदक जितिन् । पुरुषको १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते । उनले ३१ मिनेट ०३.१ सेकेण्डमा दूरी पुरा गरे । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९. ८ सेकेण्डसहित रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८.३ सेकेण्डका साथ कास्य पदक हात पारे ।

प्रतिक्रिया