भैरहवा । निर्माणको अन्तिम चरणमा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उपकरण भित्राउन शुरु गरेको छ । धावनमार्ग, टर्मिनल भवन र कन्ट्रोल टावरलगायतका संरचनाको कामलाई अन्तिम चरणमा पुर्याएसगै विमानस्थलका लागि चाहिने उपकरण भित्राउन शुरु गरेको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले नै सो विमानस्थल चलाउने निर्णय गरेपछि उपकरण खरिदको प्रक्रिया शुरु गरिएको छ । तीन किलोमिटर लामो धावनमार्गको तीन तहको काम सकिएर चौथो तहको काम सुरु भइसकेको छ । अबको ३० दिनमा धावनमार्ग, ट्याक्सी वे र पार्किङ वे को काम सकिने आयोजनाले जनाएको छ ।
‘उडान तथा अवतरणमा प्रयोग हुने विभिन्न उपकरणको टेन्डरको काम सकिएको छ, अब केहि दिनमा उहाँहरुले सामान आयात गर्न सुरु हुनेछ’ नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने, ‘२०१९ भित्र नै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी काम भैरहेको छ ।’ विमानस्थलको धावनमार्गको पिच गर्न सकेपछि काठमाडौंमा अवतरण गर्न नसकेका अन्तराष्ट्रिय उडानले अवतरण गर्न सक्ने बताएको छ ।
सबैभन्दा अन्यौलमा रहेको विमानस्थल कसले संचालन गर्ने भन्ने कुरामा क्यानले निर्णय गरेपछि थपकाम तिव्रताका साथ अगाडी बढेको छ । यसअघि सो विमानस्थल संचालनका लागि जर्मनी र कतारका कम्पनीहरुले चासो व्यक्त गरेका थिए । विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि कसले चलाउने भन्ने कुराको टुंगो नलागेको भन्दै अन्योल भैरहेका बेला नागरिक उडड्यन प्राधिकरणले भने आफैं चलाउने बताएको हो ।
‘हामीले सन् २०१९ भित्रै विमानस्थल चलाउने भनेका छौं, अहिलेसम्म मोडल पनि टुंगो लागेको छैन, मोडल टुंग्याएर विदेशी कम्पनीलाई बोलाएमा धेरै समय लाग्न सक्छ, त्यसैले सुरुमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हामीले नै चलाउने तयारी गरेका छौं’ प्राधिकरणका महानिर्देशक गौतमले भने ।
‘अहिले सबै प्रक्रिया हेर्दा यसै वर्ष नै विदेशी आएर चलाउन सक्ने सम्भावना देखिँदैन, त्यसैले अहिले हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जसरी चलाएका छौं, त्यसरी नै भैरहवा पनि चलाउने तयारी छ’ महानिर्देशक गौतमले थपे । तत्कालिन पर्यटनमन्त्री स्व. रविन्द्र अधिकारीले विमानस्थल संचालनको विषयमा छलफल गर्न जर्मनी जाने तयारी गरिररहेका थिए । उनले त्यहाँ रहेको फ्र्याङकफर्ड विमानस्थल समेत संचालन गरिरहेको समुहसग सो विषयमा छलफल गर्न जाने अघिल्लो दिन ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।
अर्थ मन्त्रालयले विदेशको प्रतिष्ठित र अनुभवी कम्पनीसँग जीटूजी (सरकारी–सरकारी) अथवा पीपीपी (सार्वजनिक निजी साझेदारी) जुन मोडलमा भए पनि सम्झौता गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत क्यानलाई पत्राचार गरेको थियो । अर्थ मन्त्रालयले भनेअनुसारको प्रस्ताव तयार पारेर क्यानले सैद्धान्तिक स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाएको छ । क्यानको फाइल निर्णयको पर्खाईमै छ ।
‘विमानस्थल सञ्चालन र व्यवस्थापनको लागि विदेशी कम्पनीसँग सम्झौता गर्न सकिने कुरा समेटेर मन्त्रीपरिषद्लाई पठाएको प्रस्ताव पर्खाइमै छ, तर यो प्रक्रिया लामो हुने भएकोले हामीले नै विमानस्थल चलाउने तयारी गरिरहेका हौं’, उनले भने । राष्ट्रिय गौरबको आयोजनामध्येको एक यो विमानस्थलमा आगामी असार १३ गते अन्तराष्ट्रिय जहाजको परीक्षण उडान गर्ने तयारी छ । राष्ट्रिय गौरवका अन्य आयोजनाको काम सुस्ताइरहेको बेला रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको कामले भने आशा जगाएको छ । सन् २०१४ को डिसेम्बर बाट निर्माण थालिएको बिमानस्थल ५ बर्षको अवधिमा सम्पन्न हुन लागेको हो ।
टर्मिनल बिल्डिङको आगमनतर्फ अन्तिम तलाको ढलान सम्पन्न भएर फिनिसिङ हुँदैछ । प्रस्थानतर्फको अन्तिम तलाको ढलान सम्पन्न भएको छ । त्यस्तै प्रशासकीय भवन निर्माण सकिएको छ । कन्ट्रोल टावरको ८ तलामध्ये ६ तल्लासम्म काम सकिएको छ । एप्रोनको काम सम्पन्न भएको छ । आयोजनाको अनुसार बाँकी काममध्ये २० प्रतिशत विद्युतीय काम र १५ प्रतिशत अन्य सिभिल काम पनि तोकिएको समयमा सकिने छ । यहाँ गरिएको पिच गुणस्तरीय भएको र पिचको आयु १५ बर्ष अनुमान गरिएको छ ।
निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व १० हजार रोपनी छ । बनिरहेका र सञ्चालनमा रहेको अन्तराष्ट्रिय विमानस्थलको जग्गाको स्वामित्वको दाजोमा यो निक्कै धेरै पनि हो । राडर, सुरक्षा, ह्याङ्गर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, पार्किङस्थल र अझै एउटा टर्मिनल बिल्डिङ बन्नेछ । यो क्षेत्रफलले आगमी ५० वर्षसम्म अन्तराष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने प्राधिकरणले बताएको छ ।
प्रतिक्रिया