भारतको जित

मोरङ । माल्दिभ्सलाई ६–० गोलअन्तरले हराउँदै साफ महिला च्याम्पियनसिपमा साविक विजेता भारतले शानदार सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह ’बी’ को खेलमा भारतले माल्दिभ्सवरिुद्ध सहज जित निकाल्यो ।भारतविरुद्ध माल्दिभ्स प्रभावहीन बन्दा पहिलो हाफमै ५–० ले पछि परेको थियो ।

खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइले अग्रता बनाएकी थिइन् । त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोलीका लागि दोस्रो गोल गरिन् । २३औंँ मिनेटमा इन्दूमती र २७औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्यूरी समयमा रतनबाला देवीले फ्रिकिकमार्फत भारतका लागि पाँचौं गोल गरिन् ।

दोस्रो हाफमा भने भारतलाई गोल गर्न अन्तिम मिनेटसम्म कुर्नुर्पयो । अन्तिम मिनेटमा सञ्जुले झण्डै ३० यार्डबाट गरेको सशक्त प्रहार गोल भएपछि भारतले ६–० को अग्रता बनायो । सञ्जुले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबमा राखेको थियो । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको शानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको थियो ।

महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भएको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ । भारत भने सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा यसअघिका चारै संस्करणको विजेता हो । यसअघि मंगलबार भएको उदघाटन खेलमा समूह ए बाट नेपालले भुटानलाई ३–० गोलले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार समूह ’ए’ मा रहेका बंगलादेश र भुटानबीच खेल हुनेछ ।

प्रतिक्रिया