ग्रामीण क्षेत्रमा हुँदै आएको वनविनाश कमगर्न एवं वातावरणमा सुधार ल्याउने प्रमुख विकल्पका रूपमा ग्रामीण विद्युतीकरणलाई लिन सकिन्छ । यो प्रविधि तराईका ग्रामीण क्षेत्रमा लागू गर्न सहज भए पनि पहाडमा समेत उपयुक्त देखिन्छ
नेपाल अतिकम विकसित राष्ट्र भए पनि जलस्रोतका लागि य विश्वमा नै दोस्रो धनी राष्ट्र मानिन्छ । यहाँ साना ठूला गरी करिब ६ हजार नदीनाला छन् । यति धेरै जलसम्पदा भए पनि यथोचित किसिमबाट परिचालन गर्न नसकिएकोले नेपालका धेरै जसो ग्रामीण जनता जलविद्युत्को उपयोगबाट वञ्चित छन् ।
जलविद्युत् परियोजना निर्माण पश्चात् विद्युत् मात्र उत्पादन नभई सिचाइँ तथा अन्य विकास कार्यहरू सञ्चालन गर्न ठूलो सघाउ प्राप्त हुन्छ । यसको मुख्यकारण उक्त परियोजना स्थलसम्म पुग्न बनाइने सडकले वरपरको सर्वतोमुखी विकासको ढोका खोल्न मद्दत गर्छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हुनाले यहाँको सर्वतोमुखी विकासका लागि ग्राम विकास गर्न अति आवश्यक छ । यसका निम्ति विद्यमान जलसम्पदाले अनुपम भूमिका खेल्न सक्छ, तर पुँजीको कमी, उपयुक्त प्राविधिकहरूको कमी र यातायातको कठिनाई आदिले गर्दा यहाँ भएका जलभण्डारको समयोचित परिचालन गर्न सकिएको छैन ।
जलविद्युत् विकासका लागि विगतमा सरकारले निकै प्रयास गरेको थियो । परन्तु प्रचुर लगानीको आवश्यकता भएकाले जलविद्युत्को विकासमा आशातीत उपलब्धि हासिल गर्न सकिएन । अधिकांश ग्रामवासी अँध्यारोमा बस्न बाध्य छन् । यति मात्र होइन, ग्रामीण क्षेत्रमा उद्योगहरू स्थापना गर्न पनि निकै नै कठिनाइ छ ।
ग्रामीण क्षेत्रको ऊर्जाको अधिकतम माग दाउराबाट परिपूर्ति हुनाले एकातिर बाढी, पहिरो र भूक्षय जस्ता पाकृतिक प्रकोपहरू प्रत्येक वर्ष तीव्र रूपले बढिरहेका छन् । बढ्दो ऊर्जाको माग परिपूर्ति गर्न नवीकरणीय ऊर्जाले उल्लेखनीय भूमिका खेल्छ । नवीकरणीय ऊर्जा भन्नाले एकपटक प्रयोग गरेपछि नाश नभई नवीकरणीय हुने भन्ने बुझिन्छ । जलविद्युत् पनि एक प्रकारको नवीकरणीय ऊर्जा हो, किनभने नदीनालाहरू निरन्तर रूपले प्रयोग गर्न सकिन्छ । नेपालको गाउँघरमा प्रचुर मात्रामा नदी–तालहरू छन्, जसको यथोचित परिपाटीबाट परिचालन गर्न सकिएको छैन । जलविद्युत्को अपार सम्भावना भएकाले त्यसको अधिकतम प्रयोगका निमित्त सरकार तथा सम्बन्धित संघ–संस्थाहरू विशेष रूपले कटिबद्ध हुनुपर्ने देखिन्छ ।
ग्रामीण क्षेत्रमा हुँदै आएको वनविनाश कमगर्न एवं वातावरणमा सुधार ल्याउने प्रमुख विकल्पका रूपमा ग्रामीण विद्युतीकरणलाई लिन सकिन्छ । यो प्रविधि तराईका ग्रामीण क्षेत्रमा लागू गर्न सहज भएपनि पहाडमा समेत उपयुक्त देखिन्छ ।
ग्रामीण क्षेत्रहरूमा स्थानीय व्यक्तिहरूको सक्रियताबाट निर्मित केही लघुजलविद्युत् परियोजनाहरू हालसम्म पनि सञ्चालनमा छन् । यसका निमित्त उनीहरूले घरघरै गई चन्दा उठाई लागत खर्च जम्मा गर्नुका साथै आवश्यक श्रमदान समेत गरेका थिए । उनीहरूको सक्रियतामा सो परियोजनाका लागि बाह्य संघ–संस्थाहरूको सहयोग, सरकारबाट अनुदान र कृषिविकास बैंकबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
सन् १९८० को दशकको सुरुतिर नेपाल विद्युत् प्राधिकरणको साना जलविद्युत् विभागबाट १ सय किलोवाटसम्मको माइक्रो तथा १ हजार किलोवाटसम्मको मिनी हाइड्रो जलविद्युत् परियोजनाहरू स्थापना गरिएका थिए । यिनीहरूबाट अधिराज्यका केही जिल्ला सदरमुकाम तथा आसपासका बजार क्षेत्रहरूमा थोर–बहुत सुविधा पुगेको थियो । पछि कृषि विकास बैंकले साना तथा गाउँस्तरीय जलविद्युत् संयन्त्र स्थापना गर्न लाग्ने सम्पूर्ण खर्चको ५० प्रतिशत रकम अनुदानका रूपमा उपलब्ध गराउने कार्यक्रम सञ्चालन ग¥यो, किन्तु यो अनुदान कार्यक्रमले निरन्तरता प्राप्तगर्न सकेन ।
नेपालको ग्रामीण विद्युतीकरणका लागि खास गरेर नेपाल विद्युत् प्राधिकरण विशेष रूपले संलग्न छ । हुन त दातृराष्ट्र तथा संस्थाहरूले पनि ग्रामीण विद्युतीकरणका लागि सहयोग नजुटाएका होइनन् । परन्तु जलविद्युत् परियोजनाहरूले मूलतः तराई तथा भित्रीमधेसका केही क्षेत्रका मानिसहरू मात्र लाभान्वित भएका छन् । यसको मुख्यकारणमा भौगोलिक विकटता, प्राविधिक तथा आर्थिक कमीलाई मान्न सकिन्छ ।
वर्तमान समयमायहाँ नेपाल विद्यत् प्राधिकरण तथा निजी रूपले बनाएका संयन्त्रहरू बढी मात्रामा सञ्चालनमा छन्, तर स्थानीय जनशक्तिको सही परिचालन गर्न सके विद्युतीकरणमा प्रगतिगर्न सकिन्छ । गणराज्यका अन्य गाउँलेहरूले यस्ता अनुकरणीय काम गर्न सके ग्रामीण विद्युतीकरणले फड्को मार्नेछ । विगतका अनुभवबाट के प्रमाणित हुन्छ भने नेपाल विद्युत् प्राधिकरणले अनिश्चित तथा विशेष कार्यक्रममा केन्द्रित भई लघु तथा साना जलविद्युत् परियोजनाहरू माथि आफ्ना नियन्त्रण परित्याग गर्नुपर्छ र सो कार्य उपभोक्ताहरूद्वारा गराउनुपर्छ ।
विचारयोग्य कुरा के छ भने जलविद्युत् ग्रामीण जनताको जीवनस्तर उकास्न निकै उपयोगी हुनेछ, तर यसको उत्पादनमा केन्द्रीय नियन्त्रण गर्नाले स्थानीय जनताको आवश्यकता अनुरूपको आयोजना तथा परियोजनाहरू स्थापना गर्न सकिँदैन ।
विगतको अनुभवबाट के प्रतीत हुन्छ भने नेपालविद्युत् प्राधिकरणद्वारा सञ्चालनमा ल्याइएका विद्युत् परियोजनाहरू ज्यादै खर्चिला छन् । यसको प्रभाव उपभोक्ताहरूमा पर्न जान्छ । त्यसैले आगामी दिनमा खर्च कम गर्न सम्बन्धित व्यक्तिको ध्यानाकृष्ट हुनु नितान्त आवश्यक छ ।
ग्रामीण विद्युतीकरण प्रक्रियालाई तीव्र गतिदिन बहुपक्षीय, अन्तर्राष्ट्रिय संघ–सस्था तथा मित्रराष्ट्रहरूले केही लघु तथा साना जलविद्युत् परियोजनाहरू स्थापनाका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै आएका छन् । परन्तु आजसम्म पनि अधिकांश ग्रामवासीले बिजुलीको सुविधा पाउन सकिरहेका छैनन् । त्यसैले यहाँको ग्रामीण विद्युतीकरणको प्रयास सफल पार्न निजी क्षेत्रको सक्रियता तथा सफलताको आवश्यकता छ ।
प्रतिक्रिया