आफ्नै डेरामा मृत भेटिइन् रोशनी शाही

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरमा मृत भेटिएकी छन् । श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक– २ वृहस्पतिमार्गको घरमा मृत भेटिएकी हुन् ।

डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा भित्रबाट ढोका लागेको थियो । धेरै समय ढक्ढक्याउँदा पनि ढोका खुलेन । प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोडेर हेर्दा उनी भुँइँमा लडेकी थिइन् । त्यसबेलासम्म उनको श्वासप्रश्वास बन्द भइसकेको प्रहरीले जनाएको छ ।

शरीरमा कुनै पनि घाउचोट नभएको डीएसपी ढुंगानाले बताए । अत्यधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । २०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्नेत तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो ।

त्यसक्रममा महराको चस्मा फुटेको थियो । रोशनी संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी थिइन् । सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् ।

महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।

प्रतिक्रिया