काठमाडौं । नव नियुक्त गभर्नर डा विश्वनाथ पौडेलले शेयर धितो कर्जाको जोखिम भार घटाएका छन । आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत ५० लाखभन्दा माथिको शेयर धितो कर्जामा जोखिम भार घटाएका हुन । हाल १२५ प्रतिशत जोखिम भार रहेकोमो अब १०० प्रतिशत हुने भएको छ । त्यस्तै, ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो । राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो ।
यसैगरी लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरिने उल्लेख छ ।
मौद्रीक नीतिको तेस्रो त्रैमासीक समीक्षा मार्फत पनि नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने भएको छ ।
त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको जनाएको छ ।
प्रतिक्रिया