मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्लले गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरेकी छन् ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा उपप्रमुखसँग न्यून आयस्रोत भएका गर्भवती तथा सुत्केरी महिला भेटघाट कार्यक्रममार्फत उपप्रमुख मल्लले साविकको पिना गाबिस तथा हालको छायाँनाथ रारा नगरपालिका– ६, ७ र ८ का ७१ जना गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामग्री सहयोग गरेकी हुन् ।
आइतबार उपप्रमुख मल्लले सुत्केरी र गर्भवती आमाहरुलाई घरमै पुगेर पौष्टिक आहार र सरसफाइजन्य सामग्रीहरु पनि वितरण गरेकी छन् । आर्थिक वर्ष २०८१–८२को कार्यक्रम अनुसार साविकको पिना गाबिस तथा हालको छायाँनाथ रारा नगरपालिका– ६, ७ र ८ का ७१ जना गर्भवती र सुत्केरी महिला अण्डा, तेल, साबुन, जुवानो, मेथीलगायतका पोषण सामग्रीसँगै नगद एक हजार पनि उपलब्ध गराइएको उपप्रमुख मल्लले बताइन् ।
यो कार्यक्रम छायाँनाथ रारा नगरपालिकाका १४ वडामा लागू हुने र यस कार्यक्रममार्फत नगरपालिका भित्रका १४ वडाका २५० जना गर्भवती तथा सुत्केरी महिला लाभान्वित हुने उपप्रमुख मल्लको भनाई छ ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुमा पोषण सुधारमा थोरै भए पनि राहत हुने विश्वास लिएको मल्लको भनाई छ । मल्लले यो कार्यक्रम हरेक वर्ष सँचालन हुँदै आएको नगर उपप्रमुख मल्लले बताइन् ।
आर्थिक अवस्था कमजोरी तथा गरिबिका कारण मुगुमा कुपोषण भएका महिला बालबालिकालाई पोषण सामाग्रीले सहयोग पुग्ने र त्यसै अनुरुप नगरपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरु विशेष गरि न्यून आयस्रोत भएका आमाहरुलाई प्राथमिकताका साथ सामग्री वितरण गर्ने गरेको उपप्रमुख मल्लको भनाई छ ।
यसैबीच पोषण सामग्री पाएपछि गर्भवती तथा सुत्केरी महिला खुसी भएका छ्न् । आर्थिक अवस्था कमजोरका कारण पोषणयुक्त सामग्री जोहो गर्न समस्या थियो । नगरपालिकाबाट सहयोग भएपछि पोषण सुधारमा सहज हुने महिलाहरुको भनाई छ ।
मुगु
प्रतिक्रिया