गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमालेको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

सात दशक लामो बलिदानीपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उनले बताए ।

उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासंघले गर्नेछ । सांस्कृतिक झाँकीको आवश्यक संयोजन पार्टी कार्यालयका तर्फबाट पनि गरिने छ ।

जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न संघीय लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक उपलब्धि रहेको अवस्थामा गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिने महासचिव पोखरेलले बताउनुभयो । जनताको सम्प्रुभताविरुद्ध हुने कुनै पनि गतिविधि एमालेले स्वीकार नगर्ने भन्दै उनले गणतन्त्र जनताको सार्वभौम व्यवस्था भएको र त्यसलाई जनताको अधिकारका रूपमा स्थापित गर्ने काम भएको बताए ।

‘गणतन्त्रलाई अझ सबल र सुदृढ बनाउनु पर्दछ भन्ने कुरामा अगाडि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ, जनताको अधिकार रक्षा, जनताले पाएका उपलब्धिको संरक्षण र गणतन्त्रलाई उत्सवको रूपमा मनाउने कुरामा पार्टीको ध्यान केन्द्रीत छ’, महासचिव पोखरेलले भने ।

प्रतिक्रिया