१ वर्षअघि (२०८१ वैशाख १८ गते) दृष्टि साप्ताहिकमा ‘नारा बिर्सेको कम्युनिस्ट आन्दोलन’ भन्ने लेख प्रकाशित छ । उक्त शीर्षकमा आन्दोलन, क्रान्ति र युद्ध सफलताका निम्ति उपयुक्त नारा चाहिन्छ भन्ने बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भहरू उल्लेख गरिएका छन् । उक्त लेखमा फ्रान्सेली क्रान्तिको नारा, अमेरिका स्वतन्त्रताको नारा, भारत स्वतन्त्रताको नारा, चिनियाँ सांस्कृतिक क्रान्तिको नारा मूलतः माक्र्सवाद, लेनिनवाद, सर्वहारा वर्गको अधिनायकत्वजस्ता विशाल नाराको चर्चा गरिएको थियो ।
साथै नेपालको राजनीतिक इतिहासमा सम्पन्न भएका विभिन्न आन्दोलन, क्रान्ति र युद्धको निम्ति तय गरिएका नाराका बारेमा पनि स्मरण गरिएको थियो । सारमा भन्दा उक्त लेखको सन्देश नेपाली कम्युनिस्ट आन्दोलनले नारा भूल्यो भन्ने थियो । उक्त लेख प्रकाशित भएको ठिक १ वर्षपछि नेकपा (एकीकृत समाजवादी) ले नारा भेटायो भनेर चर्चा गर्न पाउँदा खुसी लागेको छ । यस लेखमा चर्चा गर्न लागेको नारा समाजवादी यात्राको निम्ति तयार पारिएको नारा हो । नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहसमेत ठान्ने नेकपा (एकीकृत समाजवादी) ले अघि सारेको नारामा कति दम छ ? कत्तिको अर्थपूर्ण छ ? जनजनको मनमनमा बस्न सक्छ कि सक्दैन ? जस्ता सवालमाथि चर्चा गरिनेछ ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’
आन्दोलनद्वारा पार्टी निर्माण गर्ने उद्घोषका साथ २०८१ चैत १ गते नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय आन्दोलन संयोजन कमिटीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा सार्वजनिक गरेको थियो ।
उक्त नाराअघि सार्दै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनले नाराविहीन, राजनीतिक चरित्रविहीन, नैतिकताविहीन र निष्ठा विहीनताको आरोप खेपिरहेको थियो । आजका दिनमा पनि उक्त आरोपबाट मुक्त हुन सकेको छैन । तथापि एकीकृत समाजवादीले अघि सारेको नारा नेपाली कम्युनिस्ट आन्दोलनको निम्ति कोसेढुंगा बन्नसक्छ । एकीकृत समाजवादीले आन्दोलनद्वारा पार्टी निर्माण गर्ने ध्येयका साथ नारा सार्वजनिक गरेको ठिक १४ दिनपछि अर्थात १५ चैतमा तीनकुनेमा राजावादीहरूले वितण्डा मच्चाए । यदि नेपाली कम्युनिस्टहरूले माक्र्सवाद र लेनिनवाद लेखिएका राता झण्डामुनि बसेर गर्ने नगर्ने, जायज नाजायज सबै काम नगरेको भए त्यो १५ चैत आउने नै थिएन ।
खैर, सन्दर्भ ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराको हो । यो नारा अर्थराजनीतिसँग जोडिएको नारा हो । जुन नाराले समाजवादी विचार, सिद्धान्त र व्यवहारलाई घनिभूत पार्नसक्छ । सुशासन, रोजगारी र समाजवादीको बारेमा भिन्नै बहस, चर्चा र छलफल गर्न सकिन्छ । तर, एउटा लेखमा यो जम्मै काम गर्न सम्भव हुँदैन । संक्षिप्तमा भन्दा सुशासन मुलुकको समृद्धिको निम्ति अनिवार्य तत्व हो । रोजगारी मानवजीवनका लागि अनिवार्य तत्व हो भने समाजवाद सामाजिक न्याय हो ।
यी ३ वटै कुराले लोकतन्त्रलाई बलियो बनाउने र समाजलाई अनुशासित बनाउने काम गर्छन् । भष्ट्राचार मुक्त नेपाल, सुशासनयुक्त नेपालका निम्ति उक्त नारा सान्दर्भिक छ । आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसाल आफँैमा वैचारिक नेता हुन् । उनले विगत लामो सयमदेखि नेपाली समाजको हिँड्ने बाटो र उपायको बारेमा भन्दै र लेख्दै आएका छन् । जसको पछिल्लो कदमका रूपमा उक्त नारालाई लिन सकिन्छ ।
कुनै पनि आन्दोलन, क्रान्ति वा युद्ध नै भनौँ, उपयुक्त नाराबिना सम्पन्न गर्न सम्भावना छैन र हुँदैन । विगतको इतिहासले मात्रै होइन, भारतले (हाल स्थगित भारत–पाकिस्तान युद्ध) ‘अप्रेसन सिन्दुर’ को नारा अघि सारेर पाकिस्तानविरूद्ध युद्ध सुरू गरेको धेरै दिन भएको छैन । नाराको मूल्य निक्कै माथि हुन्छ । सामान्य संगठन सञ्चालनदेखि ठुल्ठुला युद्ध जिताउने काम नाराले गरिरहेका हुन्छन् । नाराबिना आन्दोलन चल्दैन । क्रान्ति चल्दैन । आन्दोलन र क्रान्ति नचलेपछि नाराबिना समाज नै चल्दैन । समाजलाई गतिशील र प्रगतिशील दिशातर्फ लैजानका निम्ति नारा चाहिन्छ । नारामुनि गोलबद्ध र आवद्ध भएर समाज बसिरहेको हुन्छ । नाराबिनाको समाज उकुसमुकुस भएर बाँचिरहेको हुन्छ ।
यही उकुसमुकुस अवस्थामा रहेको समाजलाई एकीकृत समाजवादीले न्यायिक नारा दिएको छ । जब चिन्तकले समाज र संगठन (राजनीतिक दल) लाई नारा दिन्छ त्यो विचार बन्छ । सिद्धान्त बन्छ । कार्यक्रम बन्छ । आन्दोलन हाँक्ने हतियार बन्छ । हजारौँ मानिसहरूले उक्त नारालाई बोकेर सामाजिक न्यायको गीत गाउन थाल्छन् । यसर्थ नेपाली समाजले आजका दिनमा बोक्नुपर्ने नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नै हो ।
नारा आफैँ जनजनमा र मनमनमा बस्दैन
पछौटे र अन्धविश्वासी समाजले सत्य आफैँ जित्छ भन्ने विश्वास गर्छ । त्यस्तो समाज सत्यको विजय एकदिन हुन्छ भन्दै बस्छ । खासमा सत्य आफैँ जित्दैन । सत्यलाई सत्यका पक्षपातीहरूले जिताउनुपर्छ । सत्य आफैँ जित्छ भन्ने बुझाइ बुर्जुवा र अन्धविश्वास हो । सत्य आफैँ जित्दैन, सत्यलाई जिताउनुपर्छ भन्ने कुरा भौतिकवादी हो । अन्याय भोग्नेहरूले न्यायको लडाइँ नलडिकन न्याय पाएको उदाहरण कहाँ छ ? केबल किम्बदन्ती र एकादेशका कथामा होला । त्यो बाहेक सत्यका कथा र साहित्यमा भेटिँदैन ।
त्यस्तै नारा सही भएर मात्रै हुँदैन । नारालाई परिचालन, सञ्चालन र संयोजन गर्ने व्यक्ति (नेतृत्व) पनि सही हुनुपर्छ । इमानदार हुनुपर्छ, नैतिक र निष्ठावान हुनुपर्छ । वेदाग, त्यागी र लगनशील पनि हुनुपर्छ । यसरी हेर्दा नेकपा (एकीकृत समाजवादी) ले अघि सारेको नाराको कमान्डर स्वयं घनश्यामलाई तोकिनु राम्रो कुरा हो । तर, उनले पार्टीभित्रबाट बेजोड साथ पाए भने मात्रै उक्त नाराले विशाल रूप लिनेछ । हरेक नेता कार्यकर्ताहरूले भाषणमा, नारामा, ब्यानरमा र सामाजिक सञ्जालमा यस नारालाई ब्यापक रूपमा प्रयोग गर्नुपर्छ ।
यसो गर्नुपर्ने अर्को एउटा ऐतिहासिक सन्दर्भ जोडिएको छ । नयाँ जनावाद, जबज र जनयुद्धपछि नेपाली कम्युनिस्ट आन्दोलनले लिनुपर्ने र बोक्नुपर्ने नारा नै यहि हुनेछ । नेपाली कम्युनिस्ट आन्दोलनको चौथो नाराको आधार नै यही नारा हुने देखिन्छ । समाजवादको पहिलो चरण, तयारी वा प्रवेश मार्गसमेत हुने देखिन्छ । नेपाली कम्युनिस्ट आन्दोलनले सफलता हात पारेका विभिन्न तथ्यहरू छन् । ती तथ्य र प्रमाणका आधारमा यत्ति भन्न सकिन्छ ।
साथै इतिहासलाई फर्केर हेर्दा नयाँ जनवादले नेपाली कम्युनिस्ट आन्दोलनलाई श्रमिक, किसान, सुकुम्बासी समुदायमा स्थापित ग¥यो र राजतन्त्रको विकल्पमा जनवादी गणतन्त्र अघि सारेको देखिन्छ । त्यस्तै जनताको बहुदलीय जनवाद (जबज) ले कम्युनिस्ट आन्दोलनलाई तत्कालिक लोकतन्त्रका मूल्य मान्यतासँग परिचत गराउँदै रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई प्रतिस्पर्धा गरेरै भए पनि आन्दोलनको अस्तित्व रक्षा गर्ने रणनीति र कार्यनीति तय गरेको थियो ।
त्यस्तै जनयुद्धले नयाँ जनवाद र जबजको प्रहारबाट मक्किएको पुरानो वंश र नश्लीय राज्य संरचनाका खामाहरू भत्काउन अन्तिम धक्का दिएको इतिहास ताजै छ । जसले सामाजिक मुद्दासँग जोडिएको वर्ग समुदायलाई संगठित ग¥यो र परिणामतः गणतन्त्र स्थापना भएको कुरा लुकाउन मिल्दैन । अबको चौथो आन्दोलनको निम्ति एउटा व्यवस्थित र व्यावहारिक नारा चाहिएको छ । एकीकृत समाजवादीले अघि सारेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा यसको आवश्यक प्रस्थान विन्दु हुनसक्छ ।
प्रतिक्रिया