समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउन प्रत्येक नेपाली जीवनोपयोगी ज्ञान, सीपबाट सुसज्जित र शिक्षित हुनु पहिलो शर्त हो । अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कम्जोर स्वास्थ्य आदि नकारात्मक प्रवृतिले निरक्षरलाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तवसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौँ शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर प्रौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुईजना महिला पर्छन् ।
विसं ०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत छ जसमध्ये पुरुष ७५.१ र महिला ५७.४ प्रतिशत साक्षर छन् । महिला र पुरुष बीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ । साक्षरता प्रतिशत एकातर्फ समुदाय विशेष पनि फरक हुन्छ, मारवाडी, कायस्थ, थकाली, बाहुन, नेवार, क्षेत्रीको साक्षरता प्रतिशत उच्च हुनुको पछाडि सामाजिक, आर्थिक स्थितिले पनि असर पार्छ भने अर्को तर्फ सुविधा सम्पन्न सहर बजारमा भन्दा दुर्गम गाउँहरू जहाँ ९० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन् ।
विगत दशकौँसम्म निरक्षरलाई साक्षर बनाउने अभियानले जस पाउने उपलब्धि नहुनका धेरै कारण हुन सक्छन,निरक्षर कहाँ छन ? वस्तुपरक तथ्यां सूचना प्राप्त गर्न नसक्नु, निरक्षरलाई कसरी कक्षामा ल्याउने ? पढ्न आइण्सकेकालाई तोकिएको अवधि भर पढ्ने जाँगर चलाएर जतनसाथ कसरी टिकाई राख्न सकिएला ? पर्याप्त साधन स्रोत कसरी जुटाएर सार्थक परिचालन गर्न सकिएला ? र साक्षर भएका नवसाक्षरहरूलाई पुनः निरक्षर हुन नदिन वा साक्षरतालाई दिगो बनाउँदै निरन्तर शिक्षा हाँसिल गर्ने अवसर कसरी प्रदान गर्न सकिएला ? आदि प्रश्नको चिन्ता र चिन्तनको आधारमा साक्षर नेपाल अभियानको सफलता भर पर्छ । साक्षर नेपाल काम हो बखान होइन ।
निरक्षरता र गरिबी एकअर्काको परिपुरक हुन । सहज र सफल जीवन जीउन कम्तीमा साक्षरताको विकल्प छैन । साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रष्फुटन गरेर सक्षमता ल्याउदछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मवल र आत्मविश्वासमा बढोत्तरी भै एक सफल र सवल नागरिकका रूपमा जीवनयापन गर्न अहम भुमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनयापनको अपरिहार्य कुञ्जी हो ।
आफ्नो परिवेशमा निरन्तर भै राख्ने परिवर्तनको सहज जानकारी प्राप्त गर्न कम्तीमा साक्षर हुनुको विकल्प छैन् । आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । मानव विकास सूचांकका आवश्यक शर्तहरू स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृ शिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । राज्यले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जाहेर गरेका सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य शर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन सघनरूपमा विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
साक्षरताका कार्यक्रम स्वभावैले निरक्षरहरूको चाहना, आवश्यकता, पहुँचको सुनिश्चता र मौजुदा साधनस्रोतलाई उच्चतम प्रयोग गर्ने खालको हुनुपर्दछ । उनीहरूको दैनिक जीवनमा तत्काल प्रयोग हुने विषयवस्तु र विधिको चयन गरी निरक्षर मैत्री साक्षरता कक्षा वातावरण बनाउनुपर्दछ । जसले वर्तमानमा देखिएका कक्षामा नआउने, बीचैमा पढाइ छोड्नेजस्ता नकारात्मक प्रवृतिलाई न्यून गर्न मद्दत पुग्दछ ।
उनीहरूले दैनिक जीवनमा भोगेका समस्यालाई साक्षरता अभियानमा सम्बोधन गर्न सकेमा निश्चय नै जाँगरिलो सहभागिता जुटाउन सकिन्छ । तसर्थ, साक्षर नेपालले निरक्षरलाई मात्र लाभ नभई शिक्षित एवं सबैको दैनिकीलाई समेत सहज बनाउन योगदान पुग्ने भएकोले ‘सबैका लागि साक्षर नेपाल साक्षर नेपालका लागि सबै’ को रूपमा आत्मसात गरी सबै नेपालीले दत्तचित्त भै आ–आफ्नो क्षेत्रबाट सदभाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, स्वामित्व र समीक्षा (७ स)मा मात्र कार्यक्रमको सफलता भर पर्ने वास्तविकता हो ।
साक्षरता कार्यक्रमको सुरुवात विसं २००४ सालदेखि विभिन्न रूपमा सञ्चालन हुँदै आएता पनि खासै उपलब्धी हुन सकेन । विसं २०६५ सालदेखि निरक्षरता उन्मूलन गर्ने भनेर अधिराज्यभर साक्षरता कार्यक्रम अभियानको रूपमा सञ्चालन गरियो । विसं २०७१ सालदेखि स्थानीयस्तरदेखि जिल्ला तहसम्म पूर्ण साक्षरता घोषणा गर्ने प्रतिष्पर्धा नै चलाइयो । विसं ०७५ असारसम्म युनेस्को मापदण्डअनुसार १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी जनसंख्या साक्षर गराएर ४७ साक्षर जिल्ला घोषणा गरिएका छन् ।
बाँकी ३० जिल्लाहरूमा साक्षरता प्रतिशत आधारमा आवश्यकताअनुसार सघन कार्यक्रमहरू सञ्चालन गरी १५ वर्ष उमेरमाथिका सबै निरक्षर हरूलाई ०७६ सालभित्र साक्षर बनाएर साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । गाउँ नै गाउँले भरिएको विकट भौगोलिक बनोट भएको विषम वास्तविकतामा साक्षरता कार्यक्रमलाई सुगमतापूर्वक निरक्षरको पहुँच भित्र ल्याउन निश्चय नै ठूलै आँट र अठोट चाहिन्छ । साक्षर नेपाल घोषणा सफल पार्न विभिन्न चुनौतिहरूको सही व्यवस्थापन गर्ने तर्फ पनि हेक्का राख्नु पर्दछ । अन्तर निकायहरू बीच केन्द्रदेखि स्थानीय तहसम्म भरपर्दो समन्वय, साक्षरतालाई उच्च प्राथमिकता दिएर कार्यक्रम र बजेट छुट्याउनु, निरक्षरहरूमा साक्षरताको महत्व र आवश्यकता सम्बन्धी जनचेतनाको पनि उत्तिकै महत्व रहन्छ ।
महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई समृद्ध नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यव्रmम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जवसम्म गर्न पाउदिनन् तवसम्म दिगो विकासको कल्पना पानीको फोका जस्तै हुन्छ । भनिन्छ एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सिमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् ।
त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्म्निर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नता तिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्य प्रति सजग र सचेत भै स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवन यापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि महिला साक्षर र सशक्तिीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघ संस्थालाई समन्वय सहकार्य र समन्वयको भूमिका निर्वाह गर्ने काम अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले खेल्दै आएको थियो । नयाँ संरचना अनुसार केन्द्रलाई मानव स्रोत तथा विकास केन्द्रमा गाभेर यसको महत्वलाई न्यूनीकरण गर्न खोज्नु अदूरदर्शिता हो भन्नु अन्यथा नहोला ।
केन्द्रले महिला सशक्तिकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको जगजाहेर नै छ । हाल २१५१ सामुदायिक सिकाइ केन्द्र, १ सय १३ खुला विद्यालय र १ सय ७३ वटा अनौपचारिक प्रौढ विद्यालयमार्फत अनौपचारिक प्रकृतिका शैक्षिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूह मार्फत आफूले अँगालेका र सम्भाव्य पेसाहरूलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गरेको छ । त्यसैगरी, आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भै हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ ।
साथै, स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । विगतका साक्षरता अभियानमा विभिन्न जिम्मेवारी प्रदान गरी महिला सहभागितालाई प्रोत्साहित गरेको पाइन्छ । साक्षरता कक्षा केन्द्र तोक्ने, स्वयंसेवक एवं स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागिताको बाहुल्यतालाई सुनिश्चित गरेको पाइन्छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसइईसम्मको अध्ययनको अवसर पाएका छन् । त्यस्तै सामुदायिक सिकाइ केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिक रूपमा बचत गर्ने अभ्यास गराउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्ने बनाउने अभ्यासको अवसर पाएका छन् ।
सामाजिक रूपान्तरण गरेर समृिद्धको सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तिकरणको विकल्प छैन । साक्षरता सशक्तिकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई ध्यानमा राखेर साक्षर नेपाल कार्यक्रम सञ्चालनमा आवश्यक स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको पाइन्छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरूपमा बढेको छ । साक्षर शिक्षित एवं सचेत महिला आमा भएको परिवारको वालवालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ ।
उल्लिखित कार्यक्रममहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर घरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरुले के ग¥यो भन्दा पनि मैले के गरें भन्ने कुराले महत्व राख्छ । त्यसकारण यो संसारलाई बदल्नु छ भने आफँैबाट सुरु गरौँ । यही वास्तविकतालाई मध्यनजर राखेर भविष्यमा पनि महिला सशक्तीकरणलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रमलाई प्रोत्साहित गर्नु भनेको समृद्ध नयाँ नेपाल बनाउन होस्टेमा हैँसे गर्नु हो भन्दा अन्यथा नहोला ।
प्रतिक्रिया