कीर्तिपुर बाल साहित्य महोत्सव

काठमाडौं । पठन संस्कृतिको विकास तथा नेपाली बाल साहित्य प्रवद्र्धन गर्ने लक्ष्यका साथ बाल साहित्य महोत्सव हुने भएको छ । १८ फागुनमा ‘दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव’ आयोजना हुने भएको हो । क्रियटिभ एकेडेमी, कीर्तिपुर नगरपालिका, कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त आयोजना महोत्सव हुन लागेको हो । महोत्सवमा कथा, निबन्ध लेखन लगायतका विभिन्न कार्यशाला हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा कम्तीमा ८ हजार जना सहभागी हुने अपेक्षा आयोजकले लिएको छ । उक्त अवसरमा सांगीतिक, काव्य गोष्ठी, ‘डम्बरी’ नामक नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

त्यस्तै, पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक परिचर्चा, नाटकका कार्यशालालगायत दुई दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न हुनेछन् । त्यसैगरी, महोत्सव अवधिभर फेस पेन्टिङ, सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, प्राचीन सांस्कृतिक महत्वका सामग्रीको प्रदर्शनी र खानाका स्टल रहनेछन् । महोत्सवमा संस्कृतिविद् तथा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिने कार्यक्रम रहेको छ । ‘बालबालिकाहरूको माझमा सम्पादक’ भन्ने छलफल कार्यक्रम महोत्सवको अर्को आकर्षण रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया