पदकधारी कराते खेलाडी सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा आयोजना भएको प्रतियोगिताबाट पदक हासिल गर्ने कराते खेलाडीहरुलाई नरहरिपुर शाखा कराते डोजो, चन्द्रागिरी – ९, मच्चेगाँउले शनिबार सम्मान गरेको छ । जापान तथा भारतको मुम्बई र कलकत्तामा आयोजना भएको विभिन्न प्रतियोगितामा उपलब्धिपूर्ण नतिजा निकाल्दै पदक हात पार्न सफल आफ्ना डोजोका खेलाडीहरु र प्रशिक्षकको सम्मानमा थानकोटस्थित त्रिभुवन पार्कमा पिकनिकको आयोजना सहित प्रशंसा पत्र र नगदद्वारा सम्मान गरको हो ।

सम्मानित हुनेमा प्रशिक्षकमा रविन्द्र मानन्धर र खेलाडीहरुमा जापानमा आयोजना भएको सैजा बुदो (मिक्स मार्सलआर्ट) मा कुमिते, काता र खुला कातामा गरि तीन तीन स्वर्ण हात पारेका रेजिना बिष्ट र राधा मानन्धर, भारतको मुम्बईमा आयोजना भएको चौथो एशिया कप अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा ६८ केजी मुनि कुमिते तर्फ स्वर्ण र काता तर्फ रजत पदक हात पार्ने राजकुमार श्रेष्ठ, १२ बर्ष मुनिमा कुमिते र कातामा २ स्वर्ण हात पार्ने सन्जु देशार, जुनियर तर्फ कुमिते, काता र खुला काता गरि ३ स्वर्ण हात पार्ने सोनिम मानन्धर, १४ बर्ष मुनिको क्याडेटमा कुमिते र कातामा २ स्वर्ण हात पार्ने मुना शाक्लयलाई सम्मान गरिएको हो ।

यसैगरि कलकत्तामा आयोजनामा भएको अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा ६० केजी मुनिको तौलमा काता तर्फ रजत र कुमिते तर्फ कास्य पदक हात पार्ने प्रविण मानन्धर र ७५ केजी तौलमा कुमितेमा कास्य पदक प्राप्त गर्ने निकेश मानन्धरलाई पनि सम्मान गरिएको हो । बिजयी खेलाडीहरूलाई डोजोका अध्यक्ष सानुभाई थापाले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

यस्तै समाज सेवी एवं खेल प्रेमी अजय श्रेष्ठले खेलाडी तथा प्रशिक्षकलाई टोकन मनि प्रदान गरेका थिए । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राष्ट्रिय खेलकुद परिषद राष्ट्रिय टिम तयारीका प्रमुख अर्जून बि.क., खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवालगायतको उपस्थिती रहेको थियो । खेलाडीहरुलाई सम्मान गर्न आयोजना गरिएको पिकनिक कार्यक्रमलाई चन्द्रागिरी नगरपालिकाका वडाहरु, सहकारी संस्था, खेलप्रेमी समूह, उद्योगी धर्मानन्द श्रेष्ठ र क्याटरिङ्ग संचालक सुनिल थापा मगरले सहयोग प्रदान गरेको डोजोका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।

प्रतिक्रिया