बैंकको व्याजविरुद्ध व्यवसायी आन्दोलित

ताप्लेजुङ । बैंकको व्याजदर वृद्धि भएको भन्दै ताप्लेजुङका व्यवसायी आन्दोलित भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले व्यवसायीहरूलाई बैंकले नांगो बनाएकाको बताए ।  बैंकहरूले आठ प्रतिशतमा सम्झौता गरेको ऋणको व्याज १८ प्रतिशतसम्म पु¥याएको व्यावसायीहरूको दाबी छ ।

ऋणअनुसार मूल्यांकन गरेको व्यावसायिक योजनाले फेल खाएपछि धेरै व्यवसायी समस्यामा परेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरे र प्रथम उपाध्यक्ष नारायण थापाद्वारा हस्ताक्षरिक विज्ञप्तीमा भनिएको छ । बैंकले विनाजानकारी व्याज बढाउने र त्यहीअनुसार असुल्ने गरेको व्यवसायीको गुनासो छ । विज्ञप्तीमा भनिएको छ, ‘एकतर्फी रूपमा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋणको व्याजदर वृद्धि गर्नाले लगानीकर्ताहरूमा भएको व्यावसायिक उत्साह मर्दै जाने र आमउपभोक्तामा यसको असर पर्ने देखिन्छ ।’

धेरै व्यवसायी निजी बैंकसँग आबद्ध भएकाले व्याजदर घटाएर एकरूपता गर्न माग गरेका छन् । व्याजदर नघटाए थप आन्दोलित हुने व्यवसायीको अडान छ । सदरमुकाम फुङलिङमा नेपाल बैंक, एनएमबी, जनता, सिद्धार्थ, सेन्चुरी, ग्लोबल आइएमई, लक्ष्मी र प्राइम बैंक रहेका छन् । थप बैंक आउने तयारीमा छन् । नौ वटा स्थानीय तह रहेको जिल्लाका ६ वटा गाउँपालिकामा पनि बैंकहरू पुगेका छन् ।

प्रतिक्रिया