२० लाख बढी पर्यटक भित्र्याउँछौँ

घनश्याम उपाध्याय, सहसचिव पर्यटन, विभाग

पर्यटन क्षेत्र नेपालको एक प्रमुख आय स्रोत हो । यति मात्र नभई रोजगारी सिर्जना, सामाजिकीकरण, आधुनिकीकरण, विश्वव्यापीकरणका क्षेत्रमा समेत यसको उत्तिकै भूमिका छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । यसको तयारी कसरी भइरहेको छ । के कस्ता प्रगति भएका छन् ? यी र यस्तै विषयमा पर्यटन विभागका सहसचिव घनश्याम उपाध्यायसँग सौर्यकर्मी अस्मिता खड्काले गरेको कुराकानीः

समृद्धि यात्राको एक वर्षभित्रमा पर्यटन क्षेत्रमा के–के प्रगति भए ?

-यस सन्दर्भमा पर्यटकीय क्षेत्रमा सकारात्मक प्रगति भएका छन् । पर्यटन वर्ष २०२० मा २० लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउने सरकारको मुख्य लक्ष्य हो । सन् २०१८ को तथ्यांक हेर्ने हो भने यस वर्षमा मात्र १८ लाखभन्दा बढी विदेशी पर्यटकको आगमन भएको छ
आगामी योजनाहरू के–के छन् ?

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा परिणत गरिँदै छ । लुम्बिनी विमानस्थल, पोखरा विमानस्थल, भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने हाम्रो आगामी योजना छ । यो योजना सन् २०१९ भित्रमा नै पूरा गरिसक्ने सरकारको लक्ष्य छ । यही भदौबाट गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउँदै छ । भिजिट नेपाल २०२० को कार्यक्रम संयोजकको रूपमा सुरज वैद्य नियुक्त भइसक्नुभएको छ । उक्त कार्यक्रमबाट चीन, भारत, भुटानलगायत दक्षिण एसियाली मुलुकहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपले प्रचारप्रसार गर्ने योजनासमेत पारित भइसकेको छ ।

यस कार्यक्रमले के गर्छ ?
-यसले विमानस्थलहरूलाई विशेष जोड दिएको छ । कारण विमानस्थलको कनेक्टिभिटी (सम्बन्ध), एयरपोर्टको क्षमता र अवस्था, एयरपोर्टहरूको अवधारणा तथा अनुसन्धानमा सहयोग पुग्छ । जसले यस क्षेत्रमा भएका समस्या समाधान गरी पर्यटक बढाउन सहयोग पुग्छ ।

अर्को कुरा इन्फास्ट्रक्चर (भौतिक पुर्वाधार) र प्रमोसनको हो । न्याथम नेपाललाई टुरिजम युनिभर्सिटीको रूपमा विकास गरिँदै छ । जसमार्फत पर्यटकलाई गाइड गर्न विभिन्न तालिम कक्षा सञ्चालन गरी दक्षजनशक्ति उत्पादन र विकासमा सहयोग पुग्नेछ । साथै पर्यटकका लागि सुविधायुक्त होटेल तथा होमस्टेको व्यवस्था गरी पर्यटक भित्र्याउन हामीले विभिन्न अभियान थालेका छौँ ।

बढी पर्यटक भित्र्याउन मार्केटिङले मात्र काम दिन्छ त ?
-मुख्य कुरा भनको प्रचारप्रसार अर्थात् मार्केटिङ नै हो । यसबाहेक आधुनिकीकरण तथा मिक्स कल्चर भयो भने विदेशी पर्यटक बढी रमाउँछन् । उनीहरूका लागि नयाँनयाँ कुरा सिर्जनात्मक ढंगले प्रस्तुत गर्नुपर्छ । अर्को कुरा विश्वव्यापीकरणलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय भाषा र संस्कृतिलाई जोड दिनु हो । योसँगै विमानको संख्या बढाउनुपर्ने हो, दुर्गम ठाउँतिर बाटो तथा यातायातको व्यवस्था गरिनुपर्ने हो । तर, सरकार भने यस काममा जागरुक नदेखिएर प्रमोसन मात्र गरिरहेको छ । यसले गर्दा बढी पर्यटक भित्रिएता पनि उनीहरूमा नेपालबारे नकारात्मक भ्रम पर्नसक्ने देखिन्छ ।

इन्फास्ट्रक्चर कस्तो हुनुपर्छ ?
-यो चाहिँ अपेक्षित हुनुपर्छ । काठमाडौं आएको पर्यटक पोखरा, लुम्बिनी, मनाङ, मुस्ताङ, बाँके बर्दिया जान चाहान्छ । त्यसका लागि बाटोघाटो सबैतिर अपडेट भएको हुन्छ र त्यही अनुरूप दक्षजनशक्ति र बाटो पनि हुनुपर्छ । जसमा गुणस्तरीय जनशक्ति र होटेलहरूको महत्वपूर्ण भूमिका हुन्छ । यी कुराहरू सँगसँगै उपलव्ध र सुधार हुनुपर्छ । पर्यटक गाइडलाई पनि तालिम उपलव्ध गराउनुपर्छ ।

पर्यटक आयातभन्दा निर्यात बढी भइरहेको छ, यसलाई पर्यटन विभागले कसरी लिएको छ ?
-हो, यो गम्भीर विषय बनेको छ । यसबाट मुलुकको व्यापार घाटा भइरहेको छ । यद्यपि, यसो हुन नदिन हामीले गुणस्तरीय पर्यटन कार्यक्रम अघि बढाउन थालेका छाँै । आन्तरिक पर्यटक कार्यक्रम सुरु गर्दै छौँ । यसका लागि विभिन्न पदयात्रा, स्थानीय समुदाय र संस्कृतिको प्रवद्र्धन, धार्मिक तथा प्राकृतिक सेवाको विकासका लागि अझै तयारी गर्दै छौँ । काठमाडौं उपत्यका वरिपरि पदयात्रा, रारा ताल, मनाङ÷मुस्ताङ, सुदूरपूर्व र सुदूरपश्चिमका मुख्य क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा परेका छन् । यसका लागि विभिन्न विकासका कार्यक्रम अघि बढाउने योजनामा छौँ ।

प्रतिक्रिया