नेपाली इतिहासको गौरवशाली दिन

जसरी सशस्त्र संघर्ष आरम्भ भएको दिन फागुन १ गतेलाई माओवादी (अहिले नेकपा) ले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । त्यसैगरी, नेपाली कांग्रेसले पनि २००७ सालको जनक्रान्ति आरम्भ भएको दिन कात्तिक २५ गतेलाई क्रान्ति दिवसका रूपमा मनाउँदै आएको छ । यी दुवै घटना पार्टीहरूका आन्तरिक मामिला हुन् । तर, मुलुकले नै उपलब्धि हासिल गरेका दिन फागुन ७ र जेठ १५ कुनै पनि पार्टीका आन्तरिक मामिला मात्रै हुन सक्दैनन्

नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण हो कि जेठ १५ भन्ने विषयमा प्रमुख राजनीतिकदलबीच मतभिन्नता पाइन्छ । २००७ साल फागुन ७ निरंकुश राणा शासन अन्त्य भएको दिन हो । भने ०६५ जेठ १५ निरंकुश राजतन्त्र अन्त्य भएको दिन हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फागुन ७ लाई खासै महत्व दिएको छैन । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने २००७ सालको जनक्रान्ति मुलुकका सबै अग्रगामी परिवर्तनको जननी भएको भन्दै जेठ १५ लाई भन्दा पनि महत्व दिनुपर्ने दाबी गर्दै आएको छ ।

गणतन्त्रको स्थापना पनि २००७ सालको जनक्रान्तिको जगमै टेकेर भएको दाबी नेपाली कांग्रेसको छ । २००७ सालको जनक्रान्ति नेपाली कांग्रेस एक्लैले गरेको हो । २००६ सालमै नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । तर २००७ सालको जनक्रान्तिमा नेपाल कम्युनिस्ट पार्टीको संस्थागत रूपमा कुनै योगदान देखिँदैन । आफ्नो योगदानविना सम्पन्न भएको क्रान्तिलाई नेपाल कम्युनिस्ट पार्टीले मान्यता नदिनुलाई अस्वभाविक रूपमा लिनुहुन्न ।

तर, नेपाल कम्युनिस्ट पार्टीका पनि आफ्नै तर्क रहँदै आएका छन् । २००७ सालको परिवर्तनका २ वटा पाटा छन् । पहिलो पाटो नेपाली कांग्रेसले गररेको सशस्त्र क्रान्ति हो भने दोस्रो पाटो तत्कालिन राजा त्रिभुवन, राणा प्रधानमन्त्री र भारतबीच भएको दिल्ली सम्झौता हो । पहिलो पाटोलाई उपलव्धिका रूपमा लिए पनि दोस्रो पाटोलाई उपलव्धिका रूपमा लिन नहुने धारणा कम्युनिस्टहरूको छ । नेपाली कांग्रेसका संस्थापक सभापति बिपी कोइरालाले पनि आफ्नो आत्मावृतान्तमा दोस्रो पाटोको विषयमा असन्तुष्टि जनाएका छन् ।

‘नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गरेर राणा शासनलाई घुँडा टेकायो तर, राजा त्रिभुवनले भारतको मध्यस्थतामा राणाहरूसँग दिल्ली सम्झौता गराई परिर्वतनको जस आफूले लिने प्रयत्न गरे’ बिपी कोइरालाले आत्मावृतान्तमा भनेका छन् ‘दिल्ली सम्झौताका वेला हामीले राजा त्रिभुवनलाई भेट्न समेत पाएनौँ ।’

सरसरर्ती हेर्ने हो भने राणाले प्रयोग गर्दै आएको निरंकुश अधिकार राजामा हस्तान्तरण हुनुबाहेक २००७ सालको जनक्रान्तिको राजनीतिक उपलब्धि हरू देखिन्न । तर, २००७ साल फागुन ७ गते राजा त्रिभुवनले संविधान सभा निर्वाचनको माध्यमबाट संविधान निर्माण गरी शासन सत्ताको विधि तयार गरिने उल्लेख गर्दै त्यसका लागि अन्तरिम मन्त्रिपरिषद्को घोषणा गरेका हुन् । पछि उनैले बेइमान गर्नु छुट्टै पाटो हो । अर्थात् घोषणा कार्यन्वन नहुनु छुट्टै पाटो हो । घोषणा कार्यन्वयन नहुनुमा जनक्रान्तिको दोष होइन । राजतन्त्र नै मुख्य दोषी हो ।

संविधानसभाको माध्यमबाट संविधान निर्माण गर्ने घोषणा भएको दिनलाई कम आँक्न मिल्दैन । तर यो घोषणा कार्यान्वयनका लागि जनताले थप ६८ वर्ष संघर्ष गर्नुप¥यो । यो ६८ वर्षको संघर्षका क्रममा भने कम्युनिस्ट पार्टीहरूको योगदान पनि नेपाली कांग्रेससरह रहेको छ । अर्थात यसरी बुझ्दा पनि हुन्छ–‘ २००७ सालको क्रान्तिले संविधानसभाको आवश्यकतालाई स्थापित गरायो भने जनआन्दोलन २०६२–०६३ ले त्यसको कार्यान्वयनका लागि राजालाई वाध्य गरायो ।’ ६८ वर्षसम्म जनतालाई धोका दिने राजतन्त्रलाई संविधान सभाले ०६५ साल जेठ १५ गते विधिवत विदाई ग¥यो । फागुन ७ र जेठ १५ एक अर्काका परिपुरक हुन् ।

२००७ सालको जनक्रान्तिको आर्को उपलब्धि भनेको सामाजिक जागरण तथा देश विकास हो । सामाजिक जागरण तथा देश विकासको सुरुवात २००७ सालको क्रान्तिपछि नै भएको हो । यो हदसम्म सामाजिक जागरण नआएको भए राजतन्त्र फाल्न सजिलो थिएन ।
यसैगरी २००७ सालको क्रान्तिमा राणाहरूले घुँडा टेक्नुको मुख्य कारण आफुले आरम्भ गरेको सशस्त्र क्रान्ति हो भन्ने बुझाइ नेपाली कांग्रेसको रहेको देखिन्छ भने आफूले गद्दीको बाजी लगाएर भारत गएका कारण राणाहरूले घुँडा टेकेको बुझाइ राजा त्रिभुवनको देखिन्छ ।

जनताले कांग्रेसलाई साथ दिएको नभएर आफूलाई साथ दिएको बुझाइका कारणले नै राजा त्रिभुवनले २००७ साल फागुन ७ गते आँफैले गरेको घोषणामा बेइमानी गरेका हुन भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यतिबेलाको नेपाली समाजले नेपाली कांग्रेसलाई खासै चिनेको थिएन , राजालाई मात्रै चिनेको थियो । नेपाली कांग्रेसलाई चिनेको सचेत वर्गले मात्रै हो । त्यतिबेला सचेत वर्गको जनसंख्या अत्यान्त न्युन थियो । त्यसैले २००७ सालको क्रान्तिमा राजा त्रिभुवनको योगदान थिएन भन्न मिल्दैन ।

जसरी सशस्त्र संघर्ष आरम्भ भएको दिन फागुन १ गतेलाई माओवादी (अहिले नेकपा) ले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । त्यसैगरी, नेपाली कांग्रेसले पनि २००७ सालको जनक्रान्ति आरम्भ भएको दिन कात्तिक २५ गतेलाई क्रान्ति दिवसका रूपमा मनाउँदै आएको छ । यी दुवै घटना पार्टीहरूका आन्तरिक मामिला हुन् । तर, मुलुकले नै उपलब्धि हासिल गरेका दिन फागुन ७ र जेठ १५ कुनै पनि पार्टीका आन्तरिक मामिला मात्रै हुन सक्दैनन् । यी दुवै दिन मुलुककै लागि गौरवशाली प्रेरणा दिने दिनहरू हुन् ।

प्रसंग २००७ सालको क्रान्ति आरम्भको

२००७ कार्तिक २५ गते मध्यरातमा वीरगञ्जबाट क्रान्ति सुरु भयो । मुक्ति सेनाका सैनिक कमान्डर थीरबम मल्लको नेतृत्वमा सशस्त्र क्रान्ति भएको थियो । भोलिपल्ट २६ गते बिहानसम्म वीरगञ्जमा नेपाली कांग्रेसको चारतारे झन्डा फहराइसकेको थियो । यसैबीच, विजय सभालाई सम्बोधन गर्ने क्रममा कमान्डर थीरबममाथि गोली प्रहार भयो । परिणामस्वरूप थीरबम मल्ल यस क्रान्तिका पहिलो ससहद भए ।

यस घटनाबाट उग्र बनेका मुक्ति सेनाले त्यस दिनभरिमै सम्पूर्ण वीरगन्ज कब्जा गरे । विमानबाट देशभरि क्रान्तिसम्बन्धी पर्चा पम्प्लेट छर्ने काम भइरह्यो । कार्तिक २६ को मध्यरातदेखि विराटनगरमा पनि क्रान्ति सुरु भएर उता पूर्वी पहाडी जिल्लाहरूमा समेत फैलियो । सशस्त्र क्रान्ति व्यापक बन्दै गयो । तारिणीप्रसाद कोइराला र फणीन्द्रनाथ रेणुको प्रयासमा विराटनगरबाट नेपाल रेडियो स्थापना र प्रसारण सुरु भयो । रेडियोबाट समाचार प्रसारण हुन थालेपछि क्रान्तिको सफलतामा ठूलो योगदान पुग्न थाल्यो ।

रेडियो प्रसारणले क्रान्तिकारी योद्धाहरूमा ठूलो जोस जागर फैलायो । उत्साह र प्ररणा बढायो । वास्तवमा आधा युद्धको विजय त रेडियोको प्रचार –प्रसारले नै गराएको थियो । विराटनगरको क्रान्तिमा डा. कुलदीप झा. लगायत दर्जनौँ योद्धा सहिद भएका थिए । गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको नेतृत्वमा सञ्चालित डेढ महिनाभन्दा बढीको सशस्त्र युद्धपछि विराटनगर र वरपर क्रान्तिकारीको कब्जामा आयो ।

उदयपुर गढी जनकपुर क्षेत्रमा कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरीको नेतृत्वमा सशस्त्र क्रान्ति गरेर कब्जा गरियो । यसरी नै सर्लाही मलंगवा, भोजपुर, चैनपुर, तेह्रथुम, ओखलढुंगा, रामेछाप, चरिकोट, सिन्धुली आदि स्थान २००७ माघ १५ भित्र क्रान्तिकारीको कब्जामा आइसकेका थिए । पूर्वतर्फका झापा, इलाम, भद्रपुर, धनकुटा ताप्लेजुङ क्षेत्रहरूमा पनि मुक्तिसेनाका नियन्त्रणमा आए । पश्चिमका भैरहवा, परासी, तौलिहवा, कोइलावास, दाङ प्युठान, सल्यान, पाल्पा, स्याङ्जा बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, बन्दीपुर गोरखा आदि क्षेत्रमा मुक्तिसेनाको आधिपत्य भयो । कैलाली, डोटी, डडेल्धुरा, अछाम, सुर्खेत, दैलेख नेपालगन्ज लगायतका प्रायः सबै क्षेत्र मुक्तिसेनाले जितेको थियो ।

राजधानी काठमाडौंमा राजा र राजपरिवार भारततर्फ गएकै दिन २००७ कार्तिक २६ बाट आन्दोलन सुरु भयो । राणा मोहन समसेरले तीनवर्षे ज्ञानेन्द्रलाई राजा बनाएको विरोधमा काठमाडौंका वासिन्दा झन् झन् विरोधमा उत्रिएका थिए । शान्तिपूर्ण आन्दोलनको जुलुस प्रर्दशनका क्रममा न्हुछेरत्न मानन्धर र भोगेन्द्र मानसिंहलगायतले सहादत प्राप्त गरे । आन्दोलन चर्किएपछि काठमाडौंमा संकटकाल घोषणा गरेर सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाइयो ।

यसैबीच मोहन समसेरले राजा त्रिभुवनलाई फर्काउन र संविधानमा आवश्यक सुधार गर्नेबारे वक्तव्य प्रकाशित गरे । क्रान्ति चलिरहेकै वेला कसरी सुरक्षित अवतरण गर्ने भनेर भारतीय प्रधानमन्त्री, राजा त्रिभुवन र मोहन समसेर, बी.पी मातृका लगायतका बीच वार्ता चल्न थालेको थियो । यसैबीच २००७ माघ ३ गते तत्कालीन नेपाली कांग्रेस अध्यक्ष एवं क्रान्ति कमान्डर मातृकाप्रसाद कोइरालाले युद्धविरामको घोषणा गरे । पटनामा सम्मेलन गरेर नेताहरूले प्रजातन्त्र स्थापना संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था सम्बन्ध आवश्यक छलफल गरे ।

यद्यपि, युद्धविरामको घोषणापछि धेरै नेता एवं कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए । पश्चिमतर्फका युद्ध कमाण्डर डा. के आई सिंहलगायत अन्य केही क्रान्तिकारीहरूले युद्धविरामको अवज्ञा गरेका थिए । दिल्लीमा राजा, राणा र नेपाली कांङ्गे्रसकाबीच भएको वार्ता, सहमती र समझदारी अनुसार फागुन ४ गते राजा र नेपाली कांग्रेसका नेताहरू काठमाडौं आइपुगे ।

नेपालमा प्रजातान्त्रिक युग प्रारम्भ भयो । यथार्थमा के हो भने काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पूर्व–पश्चिम, तराई–पहाड सबै क्षेत्रमा नेपाली कांग्रेसका मुक्तिसेनाले विजय गरिसकेका थिए । काठमाडौं वरपर पनि आन्दोलन चरम चुलीमा पुगेको वेला दिल्ली वार्ताद्वारा राजा, राणा एवं नेपाली कांग्रेसबीच सम्झौता हुन पुग्यो । सोही सम्झौताको परिणती २००७ फागुन ७ गते राजा त्रिभुवनको घोषणाद्वारा प्रजातन्त्र स्थापना भयो ।

प्रतिक्रिया