अभिषेक र आकाशको जोडी च्याम्पियन

काठमाडौं । तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ र आकाश छन्त्यालको जोडी नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन् ।  भिमसेनगोलास्थित किङकम स्पोर्ट्स क्लबको आयोजनामा बुधबार सम्पन्न फाइनलमा देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडीलाई २१–१३, २१–१६ को सोझो सेटमा स्तब्ध बनाउँदै गुरुङ र छन्त्यालको जोडी च्याम्पियन भएका हुन् । विजेता गुरुङ र छन्त्यालको जोडीले नगद ४० हजारसहित रनिङ शिल्ड र ट्रफी प्राप्त गर्नेछन् ।

उपविजेतामा सीमित राना र श्रेष्ठको जोडीले नगद २५ हजारका साथै ट्रफी पाउनेछन् । विजेता खेलाडीलाई आगामी शनिबार एक विशेष कार्यक्रमको आयोजनामार्पmत पुरस्कृत गरिने प्रतियोगिता संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी दिए । बुधबार नै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडीले सफलता प्राप्त गरे ।

शेर्पा र लामाको जोडीले रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडीमाथि १६–२१, २१–१५ र २५–२३ को कठिन जित निकाल्दै तेस्रो स्थान हात पारेका हुन् । शेर्पा र लामाको जोडीले नगद १५ हजारका ट्रफी हात पारे । उदीयमान खेलाडी उत्पादन गर्ने उद्धेश्यले राष्ट्रिय वरीयतामा शीर्ष २० स्थानभन्दा बाहिरका २० क्लबका १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया