एपिएफ र होङगान्जी न्युडायमण्ड सेमिफाइनलमा

काठमाडौं । साविकको विजेता विभागीय टिम नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यू डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पर्वतको सदरमुकाम कुश्मामा सोमबारबाट शुरु भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट विजेता तथा न्यु डायमन्ड समूह ‘बी’ बाट विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।

पहिलो खेलमा आर्मीलाई २५–७, २५–२३ र २५–१५ ले सहजै पन्छाएको एपीएफले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २५–७, २५–१३ र २५–१९ ले पराजित गर्दै समूह विजेता बन्यो । यो समूहबाट पुलिस र गण्डकी प्रदेशमध्ये एक टोली सेमिफाइनलमा स्थान बनाउनेछ । यि दुई टोलीबीचको खेल मंगलबार हुनेछ । सोमबारै भएको अर्काे खेलमा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।

एकपक्षीय बनेको खेलमा डायमन्डले पहिलो सेटमा डायमन्डले २५–१४ को सहज जित निकालेको थियो । केही रोमाञ्चक बनेको दोस्रो सेट डायमन्डले २५–२० र तेस्रो सेट २५–१५ को सहज जित निकाल्यो । पराजित भएपनि पुलिस समुह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । पुलिसले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता एपीएफसँग खेल्नेछ । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइनेछ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले २ लाख रूपैया हात पार्नेछ । दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैया प्राप्त गर्नेछन् । तीन दिने प्रतियोगिताको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईले गरेका थिए ।

प्रतिक्रिया