कलियुगका दधिचि केसी दाजुभाइ

म्याग्दी । मानिस धर्मका लागि मन्दिरमा धाउँछन्, दान गर्छन् र आत्मसन्तुटि लिने गर्छन् । आफ्नै शरिरको अंग दिएर अरूको जीवन बचाउने र रक्तदान गर्ने झनै पूण्यका काम हुन् ।

आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरूको जीवन बचाउने थोरै मानिसहरू मध्येमा पर्छन् म्याग्दीका चन्द्र र सुरज केसी । उनीहरू दाजुभाइ हुन् । एउटै घरका साख्खै दुई भाइ ४४ वर्षीय चन्द्र र ४२ वर्षीय केसीले आफ्नै शरीरको अंग र रगत दिएर समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन् ।

विभिन्न परोपकारी संघसंस्थामा आवद्ध चन्द्रले केही दिनअघि नौ वर्र्षीया बालिकालाई आफ्नो कलेजो दान दिएर बचाएका छन् । उनकै भाइ सुरजले ५३औँ पटकसम्म रक्तदान गरेर सुत्केरी महिला र कयौँ घाइतेको जीवन रक्षा गरेका छन् । जन्मेको चार महिनादेखि थलिएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी सियाना रन्तिजाको बेनी, पोखरा हुँदै काठमाडौं पु¥याउँदा पनि रोग पत्ता नलागेपछि भारतको राजधानी नयाँदिल्ली लगियो ।

त्यहाँ पुगेपछि पत्ता लाग्यो, रन्तिजाको कलेजोमा समस्या रहेछ । छोरीलाई उपचार गरेर निको पार्न सियानाकी आमा रेश्मा रन्तिजा र बुबा प्रदीप रन्तिजाले निकै दौडधुप गरे । कयौँलाई गुहारे । देवीदेउता पुकारे तर केही सीप लागेन ।

औषधिले निको नभएपछि सियानाको उपचारमा खटिएका सर गंगाराम अस्पतालका चिकित्सकद्वय डा.निमेष र डा.विशालले ‘छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुप¥यो’ भने । मिल्ने भए आफ्नो मुटु पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजो मेल खाएन । सियानाको उपचारका लागि अर्थाभाव हुनाका साथै कलेजोदाता पनि चाहिएको खबर म्याग्दीमा फैलियो ।

आखिर चन्द्र केसी सियानाका लागि बाबुआमाजस्तै प्यारो बनेर झुल्किए । ती बालिकालाई कलेजोको टुक्रा काटेर दिन केसी राजी भए । म्याग्दीमा असहाय र विपन्नलाई सहयोग पु¥याउँदै आएका ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले पहिलापहिला पैसा दिएर सहयोग गर्थे । अरूसँग मागेर सहयोग जुटाउँथे ।

कहिले मिर्गाैला रोगीको उपचार हुन्थ्यो त कहिले मुटु रोगीको । कहिले कलिला हातहरूमा कापीकलम थमाउँथे भने कहिले थरथर कापिरहेको जीउमा न्यानो लुगा । यसपालीचाहिँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएर बचाए । केसीलाई अहिले ‘म्याग्दीका दधिचि’ भन्न थालिएको छ ।

भारतको सर गंगाराम अस्पतालमा रन्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरेपछि रन्तिजाको जीवन रक्षा भएको शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए । शाक्यले भने, ‘कोषका संस्थापक अध्यक्ष केसीले मानवीय सेवा र दानवीरहरूको पंक्तिमा साहसको एउटा अभिलेख राख्नुभएको छ ।’ केसीको करिब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको हो । अहिले बिरामी सायना र दानवीर केसी दुवै अस्पतालमा स्वास्थ्यलाभ गर्दै छन् ।

सायनाको जीवन रक्षाका लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा ३० लाख रुपैयाँ संकलन गरिएको थियो । कलेजो प्रत्यारोपणअघि उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले प्रत्यारोपणका लागि मात्रै १७ लाख भारुभन्दा बढी आवश्यक भएको देखिएकाले थप सहयोगका लागि कोषले आह्वान गरेको छ ।

त्यसैगरी चन्द्रका भाइ सुरजले पनि ५३औँ पटक रक्तदान गरेर कयौँको जीवन बचाएका छन् । ०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलोपटक रक्तदान गरेको बताउने सुरजले अहिलेसम्म ५३औँ पटक रक्तदान गरेका छन् । केसीले हाइपोप्लास्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने अवस्थाका, गाडी दुर्घटना भएकालगायत दर्जनौँ व्यक्तिलाई आफ्नो रगत दिएर बचाएका छन् ।

सामान्यतया रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकहरुको परामर्श रहने गर्छ तर, अरूको दुःख देख्नै नसक्ने सुरजले आवश्यक परेको खण्डमा जतिवेला पनि आफ्नो रगत दिने गरेका छन् । केसी दाजुभाइलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन् । सुरज पत्रकार महासंघ म्याग्दीको पूर्वअध्यक्षसमेत हुन् । यातायात व्यवसायी र माउन्ट एभरेस्ट आवासीय माविका सञ्चालकसमेत रहेका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीसँगसमेत सम्बद्ध छन् ।

प्रतिक्रिया