दक्षिण अफ्रिकालाई टी–२० सिरिज

एजेन्सी , मेलवर्न । घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । बुधबार राति भएको अन्तिम तथा तेस्रो खेलमा पाकिस्तानसँग २७ रनले पराजित भए पनि दक्षिण अफ्रिकाले सिरिज २–१ ले जितेको हो । सेञ्चुरियनमा पाकिस्तानले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले अविजित ५५ रन जोडेपछि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै भान दीर डुसेनले ४१ रन जोडे । पाकिस्तानका मोहमद अमिरले ३ तथा शादब खान र फाहिम आश्रफले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १६८ रन जोडेको थियो । पाकिस्तानका मोहमद रिजवानले २६, आसिफ अलिले २५, बाबर आजमले २३ तथा शादब खानले अविजित २२ रन जोडे ।एरिक हेन्ड्रिक्सले ४ तथा क्रिस मोरिसले २ विकेट लिए । यसअघि दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको पाँच खेलको एकदिवसीय सिरिज पनि ३–२ ले जितेको थियो ।

प्रतिक्रिया