नारी सुरक्षाका लागि मिसन साहसी

बाँके । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल नामक संस्थाले ‘नारी सुरक्षा र सम्मानका लागि रास्ट्रव्यापी अभियान’ भन्ने मूल नाराका साथ ‘मिसन साहसी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

देशव्यापी रूपमा सञ्चालन भइरहेको सो कार्यक्रम नेपालगञ्जमा भने सोमबारदेखि सुरु हुनेछ । सोमबार बेलुका चार देखि ६ बजेसम्म दिनको दुई घण्टाको दरले टन्डन राइस मिलमा तालिम सञ्चालन हुनेछ । नेपालगञ्जमा आइतबार पत्रकार भेटघाटमार्फत आयोजकले सो कुरा बताएको हो ।

छात्राहरूलाई भयमुक्त बनाउने, जस्तोसुकै परिस्थितिमा पनि आत्मरक्षा गर्न सक्षम बनाउने, हिंसा तथा दुव्र्यवहारबाट बच्नका लागि आधारभूत आत्मरक्षा सीपको प्रशिक्षण दिने, नारीभित्र रहेको ऊर्जा, क्षमता र साहसलाई पुनः जागृत गराउने, नारीहरू आफ्नो सुरक्षा र स्वावलम्बनका लागि स्वयं सक्रिय र योग्य छन् भन्ने विचारको सञ्चार गराउने ‘मिसन साहसी’ को मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।

‘मिसन साहसी कार्यक्रम खाली आत्मरक्षा र आत्मविश्वासको अभियान मात्र नभएर सामाजिक चेतनाको स्तर तथा प्रवृत्तिको परिवर्तनका लागि हो’ पत्रकार भेटघाटमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका केन्द्रीय विभाग संगठन सचिव एवं केन्द्रीय सदस्य दौलत सुवेदीले भने ।

उनले अगाडि थपे, ‘यो कार्यक्रम विषेश गरेर १३–२५ वर्ष उमेर समूहका किशोरी र छात्राहरूलाई लक्षित गरेर तयार गरिएको आत्मरक्षाको प्रशिक्षण कार्यक्रम हो, जसमा शारीरिक क्षमता विकास गर्न र आत्मरक्षाका लागि आवश्यक सीपहरूका लागि कराते र तेक्वान्दो एवं विभिन्न सुरक्षा निकायका विज्ञहरूबाट प्रशिक्षण प्रदान गरिनेछ ।’

पत्रकार भेटघाटमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल प्रदेश–६ का अध्यक्ष हरिशरण आचार्य र ‘मिसन साहसी’ कार्यक्रम बाँकेकी संयोजक कृष्णा पाण्डेले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

देशका ७७ वटै जिल्लामा सञ्चालित उक्त कार्यक्रम शिक्षित परिवारको परिकल्पना गरी ल्याइएको हो । यसअघि देशका काठमाडौं, पोखरा, नारायणघाट, चितवन, दाङ, भैरहवा लगायतका देशका ठूला सहरहरूमा मिसन साहसी कार्यक्रम भइसकेको छ ।

प्रतिक्रिया