टिम च्याम्पियन आइएफकेके टोलीको स्वागत

काठमाडौं । अन्तर्राष्ट्रिय क्योकुसिन काइकान कराते संघ नेपाल (आईएफकेके) ले अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल आफ्नो टोलीलाई शनिबार एक कार्यक्रमबीच स्वागत गरेको छ ।  भारतको मुम्बइमा गत जनवरी २६ र २७ तारिखमा भएको प्रतियोगितामा नेपाली टोली ६ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । टोली शुक्रबार राती स्वदेश फर्किएको हो ।

प्रतियोगितामा आङ निमा शेर्पा, सुनील नगरकोटी, दिपेन्द्र क्षेत्री, विकास गुरुङ, मन्जु विक र शान्ति थापा मगरले स्वर्ण जितेका थिए । दिपेन्द्र र सुनीलले क्रमशः थप रजत र कांस्य पनि हात पारेका थिए । रजत जित्ने अन्य खेलाडीमा सनीसिंह सुनार र हरि दनुवार छन् ।

टिम प्रशिक्षकमा आईएफकेकेका ब्रान्च चिफ प्रेम लामा र रेवती सापकोटा, व्यवस्थापकमा विनोद पराजुली र अफिसियलमा अशोकजंग दनुवार छन् । टोलीलाई आईएफकेकेका कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिएका थिए ।

प्रतिक्रिया