माउन्ट ग्लोरीद्वारा उपाधि रक्षा

काठमाडौं । माउन्ट ग्लोरीले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ)को आयोजना तथा साइपाल एकेडेमीको प्रायोजनामा भएको प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरीले विनायकलाई २–० गोलले हराउदै उपाधि रक्षा ग¥यो ।

विजेताका प्रीतम तामाङ र चन्दन दासले गोल गरे । माउन्ट ग्लोरीका आयुश गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । चावहिलस्थित गणेशथान फुटबल मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा हिमरश्मीले नोब्सलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

माउन्ट ग्लोरीका चन्दन दास उत्कृष्ट खेलाडी तथा हिमरश्मीका ईश्वर गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । फ्लोरोसेन्ट ‘इमर्जिङ टिम’ ठहरियो । विजेतालाई काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष राम केसी, नेफका अध्यक्ष नारायण रोका, टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं, साइपालका प्रिन्सिपल सुमन नगरकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ १० गतेदेखि सुरु प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । समापनका अवसरमा उत्कृष्ट ३० खेलाडीलाई साइपालले कुल १८ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको थियो । जनही ६० हजारका दरले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रिन्सिपल नगरकोटीले सम्बन्धितलाई छात्रवृत्तिको पत्र हस्तान्तरण गरे । यस्तै फिलिपिन्समा मार्चमा हुने प्रतियोगिताका लागि २७ खेलाडीको पनि प्रारम्भिक छनोट गरिएको छ । २७ खेलाडीबाट २० खेलाडीको अन्तिम छनोट गरी फिलिपिन्स लाने नेफका अध्यक्ष रोकाले जनाएका छन् ।

प्रतिक्रिया