हिमपातले हुम्लाको जनजिवन कष्टकर

हुम्ला जिल्लाका सबै भागमा हिउँ परेको छैटौं दिन भएको छ । हरेक दिन राति र दिनभर जसो हिउँ पर्दा यहाँका स्थानीयलाई घरबाट बाहिर निस्कन समेत कठिन भएको छ । उसै त हिमाली जिल्ला त्यसमा हिउँ परेका कारण चिसो अत्याधिक बढेको छ । खाना पकाएर खानसमेत मुस्किल हुने गरी हिउँ जमेको छ । तापक्रम झरेर माइनस १५ डिग्रीभन्दा बढेको छ । गएको ५ वर्षको भन्दा यो वर्ष हिउँ बढी पर्दा सदरमुकाम आसपासमा ४ फिट हिउँ परेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा भने करिब ६ फिटसम्म हिउँ जमेको छ ।

हिउँले गर्दा नीयमित कामकाज गर्नसमेत मुस्किल भएको छ । चिसोको कारण धाराका पाइपमा खानेपानीसमेत जमेकोले अवस्था अझ कष्टकर बन्दै गएको छ । स्थानीयले पानी खानको लागि खोपानीको धाराभन्दा मूल रहेको स्थानबाट मात्र खानेपानीको लागि जोहो गर्नु परिरहेको छ । निश्चित ठाउँमा मात्र खानेपानीको मुहान भएको कारण चिसोले खानेपानीको लागिसमेत जोहो गर्न मुस्किल परेको छ ।

एक ठाउँबाट अर्को ठाउँ जानको लागि समेत कठिन हुँदै गएको छ । एक गाउँबाट अर्को गाउँ जाने बाटो नै हिउँले छोपिँदा यात्रा गर्न समेत बन्द भएको हो । सदरमुकामसँग हुम्ला जिल्लाका सबै स्थानीय तह सम्पर्कविहीन बनेको छ । लगातार हिमपातले गर्दा दिउँसो सोलारले चल्ने नेपाल टेलिकमको नमस्ते जिएस्एम् सेवा पनि अवरुद्ध हुँदा आफन्तजनलाई सम्पर्क गर्न पनि गाह्रो भएको स्थानीयले बताएका छन् । काम विशेषले सदरमुकाम जानुपर्ने भएको भएता पनि हिउँ परेर बाटो नै नदेखिने अवस्था आएकोले जान नसकिएको सर्केगाड गाउँपालिका वडा नं. ८ का स्थानीय कल्पना रोकायाले बताइन्. ।

अत्याधिक चिसोको कारण घर बाहिर निस्कन नसक्दा घर मै आगो बालेर बस्नु परेको, चौपायालाई सुख्खा घाँसको भरमा घरमा नै पाल्नुपर्ने अवस्था आएको छ । पशुवस्तुलाई पानी खुवाउनको लागि पानीको मुहानमा लिन सक्ने अवस्थासमेत छैन । लगातार हिमपात भइरहेको छ । अझै हिउँ पर्न नरोकिएमा अवस्था अझ खराब हुने संकेत देखिएको छ ।

लगातार हिमपातको कारण जिल्ला बाहिर जानको लागि एक मात्र साधन हवाईजहाज सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँले गर्दा अवरुद्ध भएको छ । स्थानीय र जिल्लामा भएका कर्मचारीले २ दिनदेखि विमानस्थलमा जमेको हिउँलाई हटाउने प्रयास गरेको भएता पनि हरेक दिन लगातार भएको हिमपातले अझ हिउँ थपिँदा यो असम्भव भएको छ ।

विमानस्थलको हिउँ सफा गर्नको लागि ल्याइएको गाडीबाट पनि हिउँ सफा गर्न भएको छैन । सिमकोटबाट ७ किलोमिटरको दूरीमा चल्ने यातायातका साधन पनि अवरुद्ध भएका छन् । मुुगु जिल्लाबाट हुम्लाको लागि दैनिक उपभोगका सामान ढुवानी गर्ने खच्चर पनि बाटोमा नै रोक्नुपरेको खच्चर व्यवसायीले बताएका छन् । काम विशेषले जिल्लाबाहिर जानु पर्ने हवाई यात्री भने सिमकोटमा नै पाँच दिनदेखि ठप्प हुँदा स्थानीयको जीवन कष्ठकर बनेको छ ।

हिउँ पर्दा किसान खुसी

हुम्लाका अधिकांश भागमा सिँचाइको सुविधा नभएकाले हरेक वर्ष यहाँका किसान आकाशे पानी र हिउँको भरमा खेती गर्दै आएका छन् । उनीहरूका लागि अहिलेको हिमपात ठूलो राहत बनेको छ । जिल्लाको कुनै पनि गाउँमा उचित सिँचाइ नहुँदा हरेक वर्ष यहाँका किसानले खडेरी व्यहोर्नुपरेको भएता पनि यस वर्ष मंसिरमा लगाएको असारे बाली गहुँ, जौ र उवा प्रजातिका बालीनाली राम्रो हुनेमा आशावादी भएका छन् । त्यसैगरी, केही दिनमा रोप्न लागिएको स्याउ, आरुलगायतको फलफूलको लागि पनि उचित सिँचाइ भएको छ ।

हिउँ र अत्यधिक चिसोको कारण बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसोको कारण बालबालिकालाई निमोनिया रोग र वृद्ध वृद्धा दम, बाथलगायतको रोगबाट प्रभावित भएका छन् । चिसोमा न्यानो कपडा लगाउन, कामको धपेडी नगर्न, न्यानो हुने खाना खानको लागि स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । चिसोको वेलामा घरमा नै न्यानो गरी बस्न, दीर्घ रोगीलाई नियमित सेवन गर्ने औषधिलाई ध्यान पु¥याएर खाएमा स्वास्थ्य अवस्था यथावत हुन सक्ने जिल्ला अस्पताल सिमकोटका डाक्टर टसी अञ्जुक लामाले बताए । स्वास्थ्य अवस्था खराब भएमा नजिकै रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्न, तातो पानी र झोलिलो खानेकुरा खानमा डाक्टर लामाले सुझाव दिएका छन् ।

प्रतिक्रिया