जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

एजेन्सी, मेलबर्न । त्यस्तै ६ पटकको ग्रान्डस्लाम च्याम्पियन सर्बियन स्टार नोभाक जोकोभिच पनि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । मेलबर्न पार्कमा भएको क्वार्टरफाइनलमा जापानका केई निसिकोरी रिटायर्ड भएपछि जोकोभिचले सहज रूपमा सेमिफाइनलको स्थान तय गरेका हुन् ।

विश्व नम्बर आठ निसिकोरीले खेलमा ६–१ र ४–१ ले पछाडि रहेको अवस्थामा चोट बोकेपछि मैदान छाडेका थिए । जोकोभिचले यसअघिका १५औं भेटमा पनि निसिकोरीविरुद्धको खेल गुमाएका थिएनन् । ३१ वर्षे जोकोभिचले शुक्रबारको सेमिफाइनलमा लुकास पौइलीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् ।

बिहीबार हुने पहिलो सेमिफाइनलमा स्पेनिस स्टार रफाइल नाडलले ग्रीसका २० वर्षे स्टेफानोसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । ‘निसिकोरीविरुद्धको खेल निकै रमाइलो हुने गर्दछ,’ जोकोभिचले भने,‘ मेरो खेल करियरमा कयौं पटक उनीसँग खेलेको छु । उनी निकै राम्रो खेलाडीसमेत हुन् । उनी छिट्टै ठिक हुने छन् ।’

कीर्तिमानी उपाधिको दौडमा रहेकी अमेरिकी स्टार सेरेना विलियम्सलाई स्तब्ध बनाउँदै चेक रिपब्लिककी कारोलिना प्लिसकोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् ।

मेलबर्न पार्कमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा प्लिसकोभाले २३औं ग्रान्डस्लाम च्याम्पियन सेरेनालाई ६–४, ४–६ र ७–५ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी हुन् । यता, हारसँगै अस्ट्रेलियाकी मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्डस्लामलाई बराबरी गर्ने सेरेनाको लक्ष्य यसपटक पनि पूरा हुन सकेन । सातौं वरीयताकी प्लिसकोभाले बिहीबार अन्तिम चारमा जापानकी नाओमी ओसाकाविरुद्ध चुनाती प्रस्तुत गर्नेछिन् ।

अर्को सेमिफाइनलमा चेकरिपब्लिकी पेत्रा केभितोभा र अमेरिकाकी डेनिइली कोलिन्सबीच बिहीबार नै प्रतिस्पर्धा हुनेछ । प्लिसकोभाले सेरेनामाथि जित निकाल्न २ घन्टा १० मिनेट समय लगाइन् । जितपछि प्लिसकोभाले विजेता हुँदै चेन्जिङ रुममा फर्किन पाउँदा एकदम खुसी लागेको बताइन् ।


‘मैले खासै राम्रो खेल्न सकेको थिइन्,’ प्लिसकोभाले भनिन्,‘ तर पनि संघर्ष गरिरहे । साथै सेरेनाको गल्तिमा अवसर बनाउँदै जित निकाले ।’ ३७ वर्षीया सेरेनाले क्वार्टरफाइनलसम्म स्थान बनाउन उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलमा भने स्थान बनाउन सकिनन् । सेरेनाले चौथो चरणमा विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपलाई समेत स्तब्ध बनाएकी थिइन् ।

यद्यपि, प्लिसकोभाविरुद्ध भने त्यो लयलाई दोहो¥याउन सकिनन् । त्यससँगै सन् २०१७ पछि पहिलो पटक ग्रान्डस्लाम जित्दै कीर्तिमान बराबरी गर्ने सेरेनाको चाहाना पूरा हुन सकेन । सन् २०१६ को युएस ओपनको फाइनलमा पुगेकी प्लिसकोभाले हालसम्म ग्रान्डस्लामको उपाधि जित्न सकेकी छैनन् ।

प्लिसकोभाले सन् २०१७ मा पनि फ्रेन्च ओपनको सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेकी थिइनन् । प्लिसकोभाले सेरेनाविरुद्ध जित निकाल्दा निकै आत्मविश्वास बढेको बताएकी छिन् । ‘ओसाका निकै बलियो प्रतिद्वन्द्वी हुन्,’ प्लिसकोभाले भनिन्,‘ तर सेरेना जति भने होइनन् ।’

प्रतिक्रिया