उत्पादन तथा सेवामूलक क्षेत्र सेयर बिक्रीका लागि उत्साहित

काठमाडौं । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमा रु एक अर्ब वा सोभन्दा बढी पुँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका हुन् ।

विशेषगरी, चन्द्रागिरि हिल्स, डिस होम नेपाल र शिवम् सिमेन्टले साधारण सेयर बिक्रीको प्रक्रिया अगाडि बढाएका छन् । तीमध्ये शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरवासीका लागि यसअघि नै साधारण सेयर बिक्री गरेको छ ।

चन्द्रागिरि हिल्स र डिस होम नेपालले भने वार्षिक साधारणसभामार्फत साधारण सेयर बिक्रीको प्रक्रिया अगाडि बढाएका छन् । चन्द्रागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले १५ करोड बराबरको १५ लाख कित्ता साधारण सेयर बिक्री गर्ने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १ सयमा साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न गरेको साधारणसभाबाट सेयर बिक्रीको प्रस्ताव पारित गरेको थियो । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालकाअनुसार साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले चुक्ता पुँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतका दरले हुन आउने साधारण सेयर बिक्रीको तयारी गरेको हो ।

०७३ सालदेखि सञ्चालनमा आएको उक्त केवलकारले काठमाडौं उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको छ । चालु आवको बजेट वक्तव्यमा समेत एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केवलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् । यस्तै, डिजिटल टेलिभिजन सेवा दिइरहेको डिस होम नेपालले पनि २२ करोड बराबरका २२ लाख कित्ता साधारण सेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । गत पुस २७ गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाले साधारण सेयर बिक्रीको प्रस्ताव पारित गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा एक अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीका रूपान्तरण भई पुँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै बजेटमा प्राइभेट इक्विटी, भेन्चर फन्ड र हेज फन्डलगायतका नयाँ संस्थालाई पुँजी बजारमा प्रवेश गराउने र नेपालको क्रेडिट रेटिङ गराई विदेशी लगानी तथा ऋण प्रवाहलाई सहजीकरण गरिने व्यवस्था छ । यस्तै, उत्पादन क्षेत्रको अर्को कम्पनी शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरबासीका लागि आठ लाख ८० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो । प्रतिकित्ता १ सयको सेयरमा प्रिमियम थपेर ३ सयमा साधारण सेयर बिक्री गरेको सो कम्पनीले तोकेअनुसारको सेयर भने बिक्री गर्न सकेन । कम्पनीले सर्वसाधारणलाई ४४ लाख कित्ता साधारण सेयर ४ सयमा बिक्री गर्ने प्रस्ताव गरेको छ ।

स्थानीयवासी र सर्वसाधारणलाई गरी कुल दुई अर्ब दुई करोड ४० लाख बराबरको साधारण सेयर बिक्री गर्ने लक्ष्य राखेको छ । तर, उद्योग प्रभावितलाई बिक्री गर्ने भनिएका सबै सेयर बिक्री नभएका कारण उक्त कम्पनी भने दबाबमा परेको छ । नेपाल धितोपत्र बोर्डले दर्ता तथा निष्कासन नियमावली ०७३ मा पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निष्कासन गरे पुग्ने व्यवस्था गरिएको छ । बोर्डका प्रवक्ता निरज गिरीले सरकारले गरेको नीतिगत सुधार तथा दश प्रतिशत मात्रै भए पनि सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्थाका कारण क्रमशः वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएको बताए । उनले सरकारले साधारण सेयर बिक्री गर्ने कम्पनीलाई निश्चित अवधिसम्म कर छुटको प्रबन्ध गरेको तथा बोर्डले पनि धितोपत्र निष्कासनमा केही सहजीकरण गरेका कारण पनि सकारात्मक वातावरण देखिएको जानकारी दिए ।

प्रतिक्रिया