आर्थिक अनियमितता तथ्यहीन – शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आर्थिक अनियमितता गरेको भन्ने आरोप तथ्यहीन भएकाले आपूm छानबिनका लागि तयार रहेको बताएका छन् ।  ‘टेप प्रकरणका कुरा आएको छ । टेप एकदम तोडमोड गरिएको छ । टेपमा बोलिएको भन्दा पनि नोटरी पब्लिक गरेकोमा फरक छ । हामीले फिफा एएफसीमा पनि यस विषयमा कुरा गरेका छौँ । नोटरीमा भोट किनिएको भनिएको छ तर टेपमा त्यस किसिमका कुराहरू नभएकाले यो आपराधिक क्रियाकलाप गर्नेहरूलाई हामीले अनुसन्धानको दायरामा राखेका छौं,’ नोटरी पब्लिक गरिएको कुरा गलत भएको भन्दै एन्फा अध्यक्ष शेर्पाले टेपका बोलिएका कुरा भने सही भएको स्विकार गरेका छन्, ‘भोट किनिएको भनिएको छ । तर, प्रमाण कोहीसँग छैन । नेपाल सरकारबाट गठित, अख्तियारबाट गठित अथवा कुनै पनि समितिबाट गठित समितिबाट छानबिनका लागि तयारी छौं ।’

पुस दोस्रो साता काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले एन्फा निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए । निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, अदालतमा पनि आर्थिक चलखेलमार्फत् प्रभाव पार्न खोजेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनअघि ठूलो धनराशी खर्चेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशी खर्चेको लगायतका कुराकानी अडियो टेपमा छ ।

नौ महिने कार्यकालमा गरेका कामको फेहरिस्त प्रस्तुत गरेका एन्फा अध्यक्ष शेर्पाले टेप प्रकरणकै कारण मानार्थ अध्यक्ष टासी घलेको पद खोसिएको बताए ।  ‘यो त हो नी ! हैन भन्ने कुरै छैन । उहाँले टप सार्वजनिक गर्नुभयो, तर आफैँले गर्नु भएन । अरु मार्फत गर्नुभयो । उहाँ आफैँले सार्वजनिक गरेको भए अझै राम्रो हुन्थ्यो । उहाँ आफैँले अझै भन्डाफोर गरे राम्रो हुन्थ्यो । हामीले उहाँलाई ससम्मान बिदा गरेका छौं,’ एन्फाले अध्यक्ष शेर्पाले थपे, ‘टेपमा भोटका लागि लेनदेन भनेर फिफामा आरोप लगाएको छ । टासी आफैँ निर्वाचन प्रचारप्रसार समितिका प्रमुख हुनुहुन्थ्यो । उहाँले निर्वाचनमा खर्च गर्ने जिम्मा लिनुभएको थियो । त्यही क्रममा कुरा भएका कुरा रेकर्ड गर्नु भएछ । उहाँ आफैँले बोलेको कुरा काटिएको छ । तर हाम्रा साथीले बोलेका कुरा मात्र त्यहाँ राखिएको छ । त्यसैले यो गम्भीर विषय हो । यसबारे छानबिन हुनुपर्छ ।’

टेप प्रकरणसँगै चार जिल्ला फुटबल संघ अध्यक्षहरूले एन्फा पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै १४ बुँदे आरोप लगाएका थिए । जसमा एएफसी प्रतियोगिताका दौरान टिम राखेको होटल भ्यु भृकुटीबाट १० लाखभन्दा बढि रकम हिनामिना गरेको आरोप लगाएका थिए । अध्यक्ष शेर्पाले त्यसलाई निराधार भएको बताएका छन् । उनले भ्यु भृकुटीबाट आएको रकम केल्मीलाई दिएको बताएका छन् ।

‘भ्यु भृकुटी होटल म चिन्दा पनि चिन्दिनँ । खेलाडीलाई पहिले देखि नै राख्दै आएको रैछ । धेरै हिसाबकिताब राख्ने मेरो बानी छैन । काम छिटो र राम्रो गर्नुपर्छ । पारदर्शिता हुनुपर्छ भन्ने हो । यसमा अध्ययन अनुसन्धान फिफा, एएफसी, सरकार सबैले गरोस । यसमा मेरो केही आपत्ति छैन । यो निराधार आरोप हो,’ एन्फा अध्यक्ष शेर्पाले थपे, ‘चेकको कुरा आएको छ । दशैको मुखमा हामीसँग पैसा थिएन । एन्फाको नाममा चेक काट्दा धेरै समय लाग्ने थियो । केल्मीलाई हामीले ४५ लाखभन्दा धेरै पैसा तिर्नु पर्ने थियो । दशैँमा उहाँलाई पनि धेरै अप्ठेरो परेकाले व्यक्तिगत नाममा चेक काट्न लगाएर हामीले उहाँलाई पैसा तिरेका हौं । जनु कार्यसमिति बैठकले पास गर्नु पर्ने भएकाले हिजोको बैठकबाट पास गरेका छौं ।’

प्रतिक्रिया