साराको बलिउडमा ‘बेस्ट डेब्यु’

एजेन्सी, मुम्बई । बलिउडमा हरेक वर्ष नयाँ कलाकार भित्रिने क्रमसँगै उनीहरूको कामको तारिफसमेत हुने गर्छ । सन् २०१८ मा बलिउडमा धेरै नयाँ कलाकारले प्रवेश गरे ।

यिनीहरूमध्ये सबैभन्दा बढी चर्चा श्रीदेवीपुत्री अभिनेत्री जान्हवी कपुर र अभिनेता सैफ अलि खानपुत्री सारा अली खानको भयो ।

वर्षको अन्तिम महिनामा अभिनेत्री सारा अभिनीत दुईवटा चलचित्र ‘केदारनाथ’ र ‘सिम्बा’ प्रदर्शनमा आए । यी दुवै चलचित्र निकै हिट भए ।

साराका डेब्यु चलचित्र हिट भएपछि उनलाई २०१८ को ‘बेस्ट डेब्यु’ को अवार्ड दिनुपर्ने बहस सुरु भएको छ । यी दुई चलचित्रको कामका कारण सारालाई बलिउडमा लामो इनिङ हाल्न सक्ने कलाकारको रूपमा हेरिन थालिएको छ । अभिनेत्री साराको अभिनय निकै परिमार्जित, प्राकृतिक र क्यामेराको सहजै सामना गर्न सक्ने खुबी रहेको छ ।

चलचित्र केदारनाथ र सिम्बामा उनले आफ्नो अभिनयबाट दर्शकलाई प्रभाव पार्न सफल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र ‘केदारनाथ’ मा अभिनेता सुशान्तसिंह राजपुतलाई उनले पछाडि पारिन् । त्यस्तै, अर्को चलचित्र ‘सिम्बा’ मा पनि अभिनयका साथसाथै उनको डान्सलाई दर्शकले निकै रुचाए । बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा डेब्यु फिल्मबाटै युवा दर्शकको बीचमा लोकप्रियता हासिल गर्न सफल भएकी छन् ।

प्रतिक्रिया