विराटको शतकमा भारत विजयी

एजेन्सी, सिड्नी । घरेलु टोली अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । एडिलेटमा अष्ट्रेलियाले दिएको २९९ रनको लक्ष्य भारतले ४ बल बाँकी हुँदा मात्र ४ विके गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान विराटकोहलीले १०४ रनको शतकीय इनिङस खेले ।

यस्तै महेन्द्र सिंह धोनीले अविजित ५५ रन जोड्दा रोहित शर्माले ४५ तथा शिखर धवनले ३२ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९८ रन बनाएको थियो । अष्ट्रेलियाको उच्च स्कोरमा शन मार्शले शतकीय इनिङस खेले । मार्शले १३१ रनको योगदान दिए । यस्तै ग्लेन म्याक्स्वेलले ४८ रन जोड्दा मार्कुस स्टोनिसले २९ रन बनाए । भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद सामीले ३ विकेट लिए ।

यो जितसंगै भारतले अष्ट्रेलियासंगको तीन खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएका छन् । अब अन्तिम खेलले सिरिज जित्ने टोलीको तय हुनेछ । पहिलो खेलमा भारत अष्ट्रेलियासंग ३४ रनले पराजित भएको थियो । घरेलु टोली अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भने भारतले जितिसकेको छ ।

प्रतिक्रिया