ला लिगामा मेसीको ४ सय गोल

एजेन्सी, मड्रिड । कप्तान लियोनल मेसीले स्पेनिस ला लिगामा गोलसंख्या ४ सय पु¥याएको दिन बार्सिलोनाले आइतबार एइबरलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानमा पुनः ५ अंकको अग्रता बनाएको छ ।

‘अद्भूत,’ मेसीको प्रशंसा गर्दै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले भने, ‘यो भन्न सहज छ तर यो उपलब्धि हासिल गर्न एकपछि अर्को गोल आवश्यक छ । मेसी सर्वकालीन खेलाडी हुन् ।’

‘हामीले शीर्ष स्थानमा अग्रता लिएका छौँ तर लिग सकिन अझै धेरै समय बाँकी छ,’ भाल्भार्डेले भने, ‘हामी सहज अवस्थामा भए पनि अहिले उपाधि पक्का गरिसकेका छैनांै ।’

घरेलु मैदान क्याम्प नोउमा भएको खेलको १९औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेसीले ५३औं मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दै ला लिगामा गोल संख्या ४ सय पु¥याए । त्यसको ६ मिनेटपछि स्वारेजले बललाई जाली चुमाएसँगै भाल्भार्डेको टोलीले सहज जित पक्का गरेको थियो ।

यस जितपछि १९ खेलमा ४३ अंक जोडेको बार्सिलाना शीर्ष स्थानमा यथावत् छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको एट्लेटिको मड्रिडभन्दा ५ अंक बढी हो । समान खेलमा समान ३३ अंक जोडेका सेभिया र रियाल मड्रिड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने ३२ अंक जोडेको आल्भेस पाँचौं स्थानमा छ ।

ला लिगाअन्तर्गत आइतबार चाँडो गरी भएको खेलमा एट्लेटिकोले लेभान्टेलाई १–० ले हराएको हो । ५७औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीको सदुपयोग गरेसँगै एट्लेटिकोले सुखद नतिजा हात पारेको थियो ।

त्यस्तै, मड्रिडले रियाल बेटिसलाई २–१ ले निराश पार्दा सेभिया भने एट्लेटिक बिलबाओसँग २–० ले पराजित भयो । १३औं मिनेटमा लुका मोडरिचले बललाई पोस्टको दिशा दिएसँगै मड्रिडले अग्रता लिएको थियो । ६७औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै बेटिसलाई खेलमा फर्काए, तर खेल सकिन ७ मिनेट बाँकी हुँदा ड्यानी काभालोसले बललाई जाली चुमाउँदै मड्रिडको कठिन जित पक्का गरेका थिए ।

प्रतिक्रिया