मनाङलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

धनगढी । ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १(० ले विजयी रहयो ।

निकै प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे । लगत्तै अर्कोतर्फ तेज तामाङले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २९ औं मिनेटमा तिर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट बञ्चित भयो । लगत्तै निरकुमार राईले पेनाल्टी क्षेत्रभित्र बाट गरेको भली प्रहार आकाशियो ।

पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा हेमन गुरुङको पासमा ओलावाले आफिज डिफेन्सलाई बिट गर्दै बल लिएर अगाडी बढ्दा रवी पासवानले बक्सअगाडी ट्याकल गर्दा पुलिसलाई सम्भावित खतरा टरेको थियो । उक्त फ्रिकिकलाई कमल श्रेष्ठले सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफमा आक्रामक देखिएको पुलिसका लागि सुरुवाती मिनेटमा निरकुमार राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२ औं मिनेटमा हेमन गुरुङको क्रसमा मोहमद आसिफको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । त्यसको दुई मिनेटमा अर्कोतर्फ तिर्थ रानाको हेडरमा गोलरक्षक विशाल श्रेष्ठ बाधक बने ।

खेलको ६८ औं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे । ८० औं मिनेटमा पुलिसका अब्दु करीमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो ।

निर्णायक गोल गरेका निरकुमार खेलको म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । यस जितसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए । ‘हामीले खेलमा सुरुवातदेखि राम्रो खेल्न सकेनौं । लिग सकिएपछि विश्रामको आवश्यकता थियो तर प्रतियोगिता खेल्न आउनु पर्यो । हामीले एकैपटक नयाँ मैदानमा खेल्दा केहि असहज पनि भएको मैले पाएँ,’ उनले भने ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्नेछन् ।

प्रतिक्रिया