हिमपातले अत्याधिक चिसाे, किसान खुशी (फोटो फिचर)

हुम्ला । हुम्लाको सबै भागमा गएको ३ दिन यता हिमपात भईरहेको छ । हिमपातले अग्लो स्थानमा बाख्लो हिउँ जमेको छ भने दक्षिणी भेगमा हल्का हिमपात भएको छ । हिमपातले सर्वसाधारणलाई अत्याधिक चिसोको महशुस भएको छ । यतिखेर हुम्लाको सदरमुकाम सिमकोटमा चिसोको कारण जनजिवन अस्तव्यस्त भएको छ ।

जाडोको कारण घरभन्दा बाहिर निस्कन समेत मुस्किल परेको छ । सदरमुकाम आसपासको क्षेत्रमा हिउँ १ फिट जमेको छ भने अग्लो भुभागमा २ फिट सम्म हिउँ जमेको छ । चिसोले पानीका धारा तथा मुहान जमेका छन् भने दैनिक कामकाजमा समेत असर परेको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्यामा पनि उल्लेख्य कमी आएको छ ।

एक ठाउँबाट अन्य गाउा ठाउँमा आवत जावतमा पनि समस्या भएको छ । तापक्रम घटेर माईनस १३ समेत पुग्दा बृद्ध र बालबालिकालाई अझ बढी चिसोले समस्या भएको छ । स्थानिय कपडा पसलमा भने बाख्लो कपडा किन्ने ग्राहकको भने भिँड देखिएको छ । चोक चोकमा आगो बालेर न्यानो स्थानियले लिईरहेको छन् । युवा भने हिउँको दृश्यमा फोटो लिनमा व्यस्त रहेको पाईएको छ ।

हिमपातले जिल्ला भन्दा बाहिर जानको लागि प्रयोग हुने एक मात्र सवारी साधन हवाई जहाजको उडान पनि अवरुद्ध भएको छ । जसको कारण नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने निजी तथा सरकारी कम्पनीलाई लाखौंको घाटा भएको छ । स्थानिय भनेकाम विशेषले सदरमुकाम सिमकोट आएका बाटोमा आउँदै गरेका सबै यात्रु बाटोमा नै अलपत्र अवस्थामा बस्नु परेको छ । मानव बस्तीमा हिउँ बाख्लो नभएको भएता पनि कामकाजमा भने समस्या भएको छ ।

स्थानिय पशुपालक किसानका पशुको आहारा घाँस हिउँले पुरै छोपेको कारण पशुवस्तुलाई समस्या भएको छ । घरमा नै कार्तिक मंसिरमा भण्डार गरीएको सुख्खा घाँसको भरमा पालिएको स्थानिय पशुपालक सर्केगाड गाउँपालिका वडा नं. ३ का धन बहादुर छत्यालले बताऐ । आकाशे पानीको भरमा खेती गर्ने किसानको लागि भने यो हिउँ खुसीको बहार भएको छ ।

गएको मंसिर महिनामा खेतमा रोपिएको गहुँ, जौ र उवा प्रजातीको अन्न बालीको लागि भने यो हिउँ बरदान भएको छ । धुलोको कारण र सुख्खा भएकोले अन्नबाली सुक्ने अवस्था भएको बेला यो हिउँ साह्रै उपयोगी सावित भएको स्थानिय किसान अदानचुली गाउँपालिका वडा नं. ४ का हरी दानीले बताए । असारे बालीलाई यो हिउँ सिचाई नै भएको बताए ।

जिल्लाका सबै जसो गाउँपालिका सदरमुकाम सिमकोटसँग सम्पर्क विहिन भएका छन् । सबै स्थानिय तहबाट सिमकोट आवत जावतको लागि घोडेटो बाटोमा हिउँ जमेको, भिरबाट ढुँगा खस्ने र हिउँ पहिरो जाने अवस्था भएको कारण स्थानिय घर भन्दा बाहिर जान नसक्ने अवस्था रहेको छ । घरमा नै दिनभर घरेलु हाते काम गरी सिमी र अन्य अन्नबाट न्यानो बढाउने खाना पकाएर खाने गरेको स्थानियले बताएका छन् ।

गत चैत्र महिनामा माध्यमिक शिक्षा उतीर्ण परीक्षा तयारी गर्न विद्यार्थीलाई पनि चिसोको कारण पठन पाठनमा समस्या भएको छ । कक्षाकोठाको सबैजसो ढोका र झ्याल खुल्ला भएको कारण चिसो हावाको कारण हात नै नचल्ने अवस्था भएको विद्यार्थीले बताएका छन् । पढाई छुट्ने भएको कारण चिसो भएको भएता पनि बाक्लो कपडाको सहाराले विद्यालयमा आएको विद्यार्थी पेमा आङ्गमु लामाले बताए । मौसम परिवर्तनको कारण गएको वर्षको हिउँदमा भन्दा केही मात्रामा हिउँ कम परेको छ । फोटो: लक्ष्मी रोकाया । हिमपातको कारण हुम्लाका विभिन्न स्थान र समाचारमा सपोर्टको लागि लिईएको तस्विर ।

प्रतिक्रिया