राष्ट्रिय खेलकुद फागुनको अन्तिममा : विष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले फागुनको अन्तिममा आठौं वृहत राष्ट्रिय खेलकुद गराएरै छाड्ने बताएका छन् । राष्ट्रिय खेलकुद आयोजनाको विषय अन्योलमा रहेका बेला पछिल्लो समय नेपालगञ्ज भ्रमणलाई तिब्रता दिएका सदस्यसचिव विष्टले बाह्रखरीसँग भने, ‘फागुनको २५ यता हुँदैन, २९ उता पनि जाँदैन । यसमा ढुक्क भए हुन्छ ।’

पूर्वाधार निर्माणको काम समयमा सम्पन्न नभएका कारण मंसिर ८ बाट नेपालगञ्जलगायत प्रदेश नम्बर ५ का विभिन्न सहरमा गर्ने भनिएको आठौं वृहत राष्ट्रिय खेलकुद निर्धा्रित मितिमा हुन सकेको थिएन । राखेपले मंसिरबाट पहिलो पटक माघ २५ लाई राष्ट्रिय खेलकुद उदघाटनको मिति सारेको थियो । त्यो मितिमा पनि पूर्वाधार तयार नहुने भएपछि सदस्यसचिव विष्टले दुई सातासम्म सर्न सक्ने बताएका थिए ।

‘पूर्वाधार निर्माणमा अहिले तिब्र गतिमा काम भइरहेको छ । अबको एक सातामा पूर्वाधारको अवस्था अर्कै हुन्छ । माघ १५ सम्ममा हामीले गर्ने सबै काम सम्पन्न भइसक्छन् । उदघाटन र समापन गर्ने नेपालगञ्ज रंगशालाको भिआइपी प्यारापिटको मोडुलर प्रविधिका सामानहरू मलेसियाबाट आउनमात्र बाँकी हो । फागुन १५ सम्ममा त्यो पनि फिट भइसक्छ,’ नेपालगञ्जमा पूर्वाधार निर्माणको अवलोकनका लागि पुगेका सदस्यसचिव विष्टले भने, ‘विश्वास गर्नुस, राष्ट्रिय खेलकुद फागुनभित्रमा सुरु हुन्छ । कसैले रोकेर वा असहयोग गरेर अब राष्ट्रिय खेलुकद रोकिन्न ।’

पूर्वाधार निर्माणको अवस्थाबारे शिक्षा तथा स्वास्थ्य समिति र युवा तथा खेलकुद उपसमितिका सांसदहरूले पनि फागुनको अन्तिम सातासम्ममा राष्ट्रिय खेलकुद गर्ने वातावरण बनाउन सहयोग गर्ने वचन दिएको विष्टले बताए । ‘सभापति जयपुरी घर्तीलगायत सांसदहरूले चाढो बजेट निकासाका लागि सरकारलाई भन्ने र आवस्यक सहयोग गर्ने भन्नुभएको छ,’ सदस्यसचिव विष्टले भने ।

राष्ट्रिय खेलकुदको नयाँ मिति नतोकिएको तथा अन्योलपूर्ण अवस्थाको चर्चा भएपछि समिति र उपसमितिले निरिक्षण भ्रमण गरेको हो । समितिका सभापति जयपुरी घर्तीको नेतृत्वमा गएको भ्रमण टोलीमा समितिका सचिव जीवराज बुढाथोकी, उपसमितिका संयोजक एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा सदस्यहरू सुरेश राई, गजेन्द्र महत र रेखाकुमारी झा छन् । संसदीय टोलीलाई सदस्यसचिव विष्ट, राखेपका सदस्य विनोद मैनाली तथा मध्य पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीलगायतले बाँके र बर्दियाका विभिन्न ९ ठाउँको भ्रमण गराएको थियो ।

प्रतिक्रिया