खप्ड गोल्डकप काँकडभिट्टा सेमिफाइनलमा

धनगढी । विभागीय क्लब एपिएफमाथि २–१ को रोमान्चक जित निकाल्दै शनिबार मेची नेत्रालय काकडभीट्टा फुटबल ट्रेनिङ सेन्टर सुदुरपश्चिम खप्तड गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । काकडभिट्टालाई सेमिफाइनलमा पुयाउन विकास राई र विश्वास श्रेष्ठले गोल गरेका थिए । काकडभिट्टाले अब फाइनल प्रवेशकालागि थ्री स्टार र च्यासलबीचको बिजेतासँग खेल्नेछ ।

धनगढी रंगशालामा नवौं मिनेटमा एपीएफले अग्रता लिएको थियो । श्याम नेपालीले दिएको लामो पासलाई युवराज खड्काले गोलमा परिणत गरेका थिए । २६ औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई एपीएफका गोलकिपरले बचाएपनि ४१ औं मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल फर्काएका थिए । विशाल राईले दिएको पासमा विश्वासले गोलरक्षकलाई छक्याउँदै प्रहार गरेको बलले जाली चुमेको थियो ।

दोस्रो हाफमा आक्रमक बनेका दुबै टोलीले एकअर्काको पोष्टमा प्रहार गरेपनि गोल हुन सकेको थिएन । खेल सकिन तीन मिनेट समय बाँकी रहँदा बिकास राइले गोलगरेपछि काकडभिट्टाले २–१ को अग्रता लिएको थियो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकासले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछिको बाँकी समय एपिएफले पुनरागमनको प्रयास गरेपनि सफलता हासिल गर्न सकेन् ।

हारसँगै एपिएफ क्वाटरफाइनलबाट बाहिरिएको छ । प्रतियोगिता अन्तगर्त आइतबार मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउँदा विधागततर्फ उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया