देशले नचिनेका राष्ट्रनिर्माता

विश्व मानचित्रमा नेपालले अहिले जे–जति भूगोल ओगटेको छ त्यसका योगदाता पृथ्वीनारायण शाह हुन् । नेपाल विश्वका सबैभन्दा पुराना १० वटा देशको सूचीमा पर्छ । तर, नेपालको भौगोलिक आकार भने कहिले धेरै ठूलो र कहिले धेरै खुम्चिएको इतिहासका किताबहरूमा उल्लेख छ । पृथ्वीनारायण शाहले एकीकरणको अभियान सुरु गर्नुअघि नेपाल काठमाडौं उपत्यकामा ४ भञ्ज्याङभित्र मात्रै सीमित थियो । त्यसभित्र पनि कान्तिपुर, पाटन, भक्तपुर, कीर्तिपुर लगायतका टुक्रा बनिसकेका थिए । यो चार भञ्ज्याङ भित्रै पनि क्षत–विक्षत भइसकेको नेपाल आज पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म र उत्तर हिमालय पर्वत शृंखलादेखि दक्षिण गंगाको मैदानसम्म छ । आजको नेपाल भनेको पृथ्वीनारयण शाहको दूरदर्शीता र पौरखको उपज हो । यी दूरदर्शी तथा पौरखी राजनेता पृथ्वीनारायण शाह विसं १७७९ साल पुस २७ गते गोरखा राज्यका युवराजका रूपमा जन्मेका थिए । त्यतिवेला गोरखा जम्मा १२ हजार घरधुरी भएको निकै सानो र गरिब राज्य थियो । यति सानो राज्यको युवराजका रूपमा जन्मेका उनले नेपाल एकीकरण जस्तो महान् काम सम्पन्न गरे । त्यसैले, उनलाई नेपालीहरूले कहिल्यै बिर्सन सक्दैनन् । उनी जन्मेको दिन पुस २७ गतेलाई नेपाली जनताले राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।

हरेक वर्ष पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउ“दै आउनु राष्ट्रनिर्माताप्रतिको सम्मान हो । यसमा दुई मत छैन । तर, पृथ्वीनारायण शाहको सम्मान जुन रूपमा हुनुपर्ने हो त्यो कहिल्यै हुन सकेको छैन । वास्तवमा पृथ्वीनारयाण शाह दूरदर्शी राजनेता हुन् तर उनलाई राजाका रूपमा मात्रै हेरियो । २ सय ४० वर्षसम्म उनका उत्तराधिकारीले नेपालमा शासन गरे । तर, उनीहरूले आफ्ना प्रतापी पुर्खालाई पूर्वराजाका रूपमा मात्रै सिमित गरे । महान् पुर्खाको मार्गनिर्देशनलाई भुल्दै देश र जनतामाथि ज्यादति गरे । यही ज्यादतिको कारण ०६३ सालमा मुलुकमा राजतन्त्रको सान्दर्भिकता समाप्त भयो । राजतन्त्रको समाप्तिस“गै पृथ्वीनारायण शाहको योगदानलाई पनि ओझेलमा पार्ने काम तत्कालीन सरकारले ग¥यो । अर्थात् पृथ्वी जयन्ती नमनाउने निर्णय ग¥यो । यो निर्णय भनेको सन्ततिहरूले गरेको गल्तीको सजाय उनीहरूका पुर्खालाई दिनुजस्तै थियो । इतिहास हेर्ने हो भने पृथ्वीनारायण शाहका उत्तराधिकारीमध्ये रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, महेन्द्रविक्रम शाह र ज्ञानेन्द्रविक्रम शाहले देश र जनताप्रति निकै नै ठूलो आघात पुर्याएका प्रमाणहरू छन् । तर, यो आघातबापत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई दण्डित गर्न खोज्नु भनेको झन् ठूलो आघात हो ।

गत वर्षदेखि सरकारले पृथ्वीजयन्ती मनाउने निर्णय गरेको छ । गल्ती सच्याउनु पनि महानता हो । तर, पृथ्वी जयन्ती मनाउने निर्णयले मात्रै पुग्दैन, यो त कर्म काण्ड मात्रै हो । पृथ्वीजयन्ती मनाउने कर्मकाण्ड त यसअघि राजतन्त्र कालमा भइरहेकै थियो । भूगोलको एकीकरणका सन्दर्भमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानबारे इतिहासमा अमिलेखीकरण भइसकेको छ । सांस्कृतिक योगदान पनि अभिलेखीकरण भइसकेको छ । किनभने उनले देशको नाम गोरखा नराखेर नेपाल राखे, तत्कालीन नेपालभित्रको सांस्कृतिक परम्परामा आँफू पनि छिरे । अर्थात् गोरखालीबाट नेपाली बने । तर, उनले अथतन्त्र, राज्यव्यवस्था तथा शासकीय प्रणालीका विषयमा दिव्योपदेशमार्फत जे कुरा अभिलेखीकरण गरेका थिए त्यसको कार्यान्वयन त परै जाओस् प्रचार प्रसारसम्म पनि भएन । खासगरी राज्यव्यवस्था तथा शाशकीय प्रणालीका सन्दर्भमा बिपी कोइरालालाई दूरदर्शी राजनेता भन्ने गरिन्छ । तर, बिपीले नेपालको राज्य व्यवस्था तथा शासकीय प्रणाली यस्तो हुनुपर्छ भनेर जे जसरी व्याख्या गरेका छन्, त्यो व्याख्या पृथ्वीरानायण शाहले आफ्नो निधन हुनुभन्दा केही वर्षअघि विसं १८२६ सालतिर गरिसकेको दिव्योपदेशमा पाइन्छ । यति मात्रै होइन गोरखा दरबारमै रहेको वेला काजी नियुक्तिका क्रममै उनले प्रजातान्त्रिक अभ्यास गरिसकेका थिए । अहिले देशको कार्यकारी प्रमुखलाई प्रधानमन्त्री भनिएजस्तै त्यतिवेला देशको कार्यकारी प्रमुखलाई काजी भनिन्थ्यो । पृथ्वीनारायण शाह आफ्नो बालसखा विराज बखेतीलाई काजी बनाउन चाहन्थे । तर, नियुक्ति गर्नुअघि उनले जनताको राय बुझ्न घरघरमा दूत पठाए । जनताका चाहना कालु पाण्डेप्रति देखियो । उनले आफ्नो चाहनालाई त्याग्दै जनचाहनाअनुसार कालु पाण्डेलाई काजी बनाए । वास्तवमा प्रजातान्त्रिक अभ्यास गरेकै कारण सानो र गरिब राज्य गोरखा ठूला र धनी छिमेकीभन्दा बलियो भएको रहेछ । त्यसैले, उनले दिव्योपदेशमा भने, ‘प्रजा जोदेखि राजी हुन्छन् उसैलाई काजी बनाउनु, प्रजा मोटा भए भने मात्रै दरबार बलियो हुन्छ ।’ तर प्रजातन्त्रको यो पाटोलाई उनका उत्तराधिकारीले सधैँ उपेक्षा गरे । जसका कारण पृथ्वीनारायण शाह राजनेता नभएर केवल राजा मात्रै पो हुन् कि, भन्ने भान कतिपय नेपाली जनतालाई परेको छ ।

प्रतिक्रिया