प्रश्न सोध्न नपाएपछि…

काठमाडौं । प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारको बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि प्रतिपक्ष कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने माग राखे पनि सभामुखले अहिले प्रश्न उत्तरको कार्यक्रम नरहेको भन्दै अर्को बैठकमा राख्ने आश्वासन दिएका थिए । तर, कांग्रेसका सांसदले आइतबारकै बैठकमा राख्न पाउनुपर्ने जिकिर गरेपछि सभामुख कृष्णबहादुर महरा र कांग्रेसका सांसदबीच केही बेर अघोषित बहस चलेको थियो ।

संसद् नियमावलीको २९९ अन्तर्गत प्रधानमन्त्रीमन्त्रीले बोलिसकेपछि उपदफा २ ले प्रश्न गर्न पाउने अधिकारी दिएको छ । तर, सो उपदफामा सभामुखको अनुमतिले भनिएको छ । सभामुख महराले सोही विषय जानकारी गराउँदै अहिले प्रधानमन्त्रीले कामकारबाहीका विषयमा मात्र संसद्लाई जानकारी गराउने भएकाले अर्को बैठकमा प्रश्न राख्न आग्रह गरेका थिए ।

कांग्रेसका सांसदले भने यही बैठकमा सबैले प्रश्न राख्न पाउनुपर्ने जिकिर गरे । त्यसपछि सभामुखले कांग्रेसका सांसद मीनेन्द्र रिजाललाई एक मिनेटमा प्रश्न सोध्न अनुमति दिए । तर, रिजालले आफूले प्रश्न नराख्ने भन्दै सबैलाई राख्न दिनुपर्ने बताए । त्यसपछि सभामुखले अर्को बैठकमा राख्न भन्दै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई समितिको प्रतिवेदन टेबुल गर्न अनुमति दिए ।

आप्mना भनाइ राख्न नदिएर प्रस्ताव टेबुल गर्न दिएको भन्दै कांग्रेसका सांसदले रोस्टम घेरेर नाराबाजी गरेका थिए । नाराबाजीका बीचमा सभापति दाहालले प्रतिवेदन टेबुल गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए । संसद्को यस घटनाप्रति नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । विधि र नियमले प्रश्न राख्न नमिले पनि प्रतिपक्षलाई सभामुखले भनाइ राख्न दिनुपर्ने नेताहरूको भनाइ छ । कांग्रेसले भने प्रधानमन्त्री प्रतिपक्षको प्रश्नदेखि डराएका बताएको छ । बैठक बुधबार सम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया