डुम्रेबाट बन्दीपुरसम्म मिनी म्याराथुन दौड प्रतियोगता

तनहुँ । बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ १ गते डुम्रेबजारबाट बन्दीपुरको टुँडिखेलसम्म मिनी म्याराथुन खुला दौड प्रतियोगता हुने भएको छ । करीब आठ किलोमिटरको उक्त दौडमा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र चौथो र पाँचौँले पाँच-पाँच हजार पुरस्कार पाउने छन् ।

स्थानीय तहमा बन्दीपुरलाई चिनाउन, पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न, शिक्षालाई केन्द्रका रुपमा विकास गर्न, कृषि ,उद्योगलाई प्रदेश सरकारको केन्द्रबिन्दु बनाउन र आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।

वडामा सडक सञ्जाल

बन्दीपुर गाउँपालिकाले छ वटै वडामा सडक सञ्जाल बनाउने तयारी गरेको छ । प्रत्येक गाउँँमा सडक पु¥याएर साना उद्योगीलाई लागत सहभागिताका आधारमा लगानी गर्न लगाउने योजना गाउँपालिकाले थालेको हो । इच्छुक उद्योगीले काम गर्न चाहेमा ६० प्रतिशत गाउँपालिकाले र ४० प्रतिशत उद्योग सञ्चालकले व्यहोर्नु पर्नेछ ।

यसैगरी गाउँपालिकाको सार्वजनिक कामलाई उत्तरदायी बनाउने सामाजिक लेखापरीक्षणमा सबै स्थानीयवासीलाई सन्तुष्ट बनाएर विकास निर्माणका काम गर्ने प्रत्येक वडा कार्यालयसम्म पुग्न मोटर चल्ने ट्र्याक खोल्ने तयारी भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

निःशुल्क स्वास्थ्य बीमा

उक्त गाउँपालिकाले ६ वटै वडाका गरीब र सीमान्तकृत गरी ५० जनाका दरले यस वर्ष ३०० जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । प्रत्येक वर्ष उक्त कार्यलाई निरन्तरता दिँदै जाने गाउँपालिकाको लक्ष्य रहेको जनाइएको छ ।

व्यवस्थित फोहर विसर्जनस्थल

बन्दीपुर गाउँपालिकाले समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि हालै मात्र २५ लाख खर्चेर बन्दीपुर १ स्थित रिमाल्नीमा ल्याण्डफिल साइट बनाएको छ । करीब पाँच रोपनी क्षेत्रफलमा बनाइएको ल्याण्डफिल साइटमा फोहरलाई छुट्याएर मोहरमा परिवर्तन गर्न लागिएको उक्त गाउँपालिका प्रवक्ता एवं बन्दीपुर १ का अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । फोहर व्यवस्थापन भएसँगै अहिले दैनिक दुई टन फोहर सङ्कलन हुने गरेको छ ।

पाँच वर्षमा प्राविधिक शिक्षा

उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई प्राविधिक शिक्षाका रुपमा अघि बढाउने लक्ष्य लिएको छ । मन्टेश्वरी तालीम प्रदान गरेर बाल विकास गर्ने, माध्यमिक तहसम्को शिक्षालाई व्यवस्थित गर्ने तथा जेटिए, अमिनलगायत प्राविधिक शिक्षाको व्यवस्था गर्न लागिएको बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिईन् । “प्रत्येक वडामा अनलाइन प्रणाली लागू गरी एक वर्षभित्रमा कागजविहिन कार्यालय बनाउने योजना छ,” उनले भनिन् ।

प्रतिक्रिया