छिटो टुंग्याइयोस् बम्जन प्रकरण

युवा तपस्वी रामबहादुर बम्जन यतिवेला यौन उत्पीडन सम्बन्धी विवादमा तानिएका छन् । ०६१ साल जेठमा बाराको रतनपुरी जंगलमा तपस्यारत अवस्थामा उनी भेटिएका थिए । त्यतिवेला १४ वर्षको किशोर रहेका उनी अहिले २९ वर्षका वयस्क भइसकेका छन् । उमेर बढेसँगै उनका अनुयायीहरूको संख्या पनि निकै बढेको छ । यो अवधिमा वेला मौकामा उनले अबाञ्छित क्रियाकलाप गरेको भन्दै मिडियामा समाचार आउँथे । तर, यस्ता समाचारलाई गम्भीर रूपमा लिइने गरिएको थिएन । तर, यतिवेला उनका क्रियाकलापमा बारेमा गम्भीर प्रकृतिका समाचार आएका छन् । यी समाचारले सिंगो मुलुकलाई तरंगित बनाएको छ । उनकी अनुयायीमध्येकै एक महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाएकी छिन् । अन्य दुई जनालाई शिविरबाटै बेपत्ता बनाइएको भन्दै सम्बन्धित परिवारका सदस्यहरूले पत्रकार सम्मेलन नै गरेका छन् । तपस्वी बम्जनको तर्फबाट यसको खण्डन मात्रै गरिएको छैन बेधर्मीहरूले बद्नाम गर्ने षड्यन्त्र गरेको आरोपसमेत लगाइएको छ । त्यसकारण यो मुद्दा निकै पेचिलो बनेको छ । तपस्वी बम्जनका अनुयायीहरूको संख्या लाखौँ पुगिसेकको छ । उनलाई बुद्धको अवतार मान्नेहरूको संख्या उल्लेख्य छ । संविधान तथा कानुनले जघन्य अपराध मानेको बलात्कार र हत्याको आरोप तपस्वी बम्जनमाथि लागेको छ । तर, उनका अनुयायीहरू यो कुरा पत्याउन तयार छैनन् । नपत्याउनु स्वभाविक हो । बलात्कार तथा हत्याको अभियोग भनेको यस्तो संगीन मुद्दा हो प्रमाण तथा पुष्टि नभई नामसमेत सार्वजनिक गर्न मिल्दैन । यस्ता मुद्दामा हतपत अभियुक्तको नाम सार्वजनिक गरिन्न । त्यसमा पनि लाखौँ अनुयायी बनाइसकेका बम्जन सामान्य होइनन् । यो प्रक्रणमा राज्यले तत्काल गहन अध्ययन तथा अनुसन्धान थाल्नुपर्छ । अब यो प्रकरण निकै पेचिलो बनिसकेको छ ।

समाजमा शृंखलाबद्ध अपराधका घटना हेर्ने हो भने धेरै जसो धार्मिक तथा सांस्कृतिक आवरणमै हुने गरेका छन् । अपराधीहरूले धार्मिक तथा संस्कृतिक आवरण धारण गर्नुलाई सामन्तवादी समाजमा अनौठो मान्नु पर्दैन । युवा तपस्वी बम्जन को हुन्, कस्ता हुन् ? अब समयक्रममा खुल्ने नै छ । तर, नेपालको सन्दर्भमा आफूलाई अलौकिक शक्ति प्राप्त भएको घोषणा गर्ने र त्यसैको आवरणमा ठगी गर्ने अपराध नयाँ होइनन् । केही महिनाअघि मात्रै कैलालीमा एक जना ठगले आफूलाई अलौकिक शक्ति प्राप्त भएको भन्दै हजारौँ अनुयायी बनाएका थिए । त्यसैका आडमा उनले एकजना युवतीलाई बोक्सीको आरोप लगाउ“दै निर्घाट कुटपिट गरेको घटना सार्वजनिक भयो । अहिले उनी थुनामा छन् । दूरदराजको मात्रै कुरा किन ? केही वर्ष अघि राजधानी काठमाडौंको पशुपति क्षेत्रमा समेत चौधरी थरका एक युवाले आफूलाई त्रिशुल बाबा घोषणा गर्दै लाखौँ अनुयायी बनाए । राज्यको नीति निर्माण तहमा धेरै नै ठूलो पहुँच भएकाहरूसमेत उनको अनुयायी बने । उनले केही दिनभित्रै पृथ्वी ध्वस्त हुँदैछ भनेर भविष्यवाणी गर्दै तिथि मितिसमेत तोके । तिथिमिति तोकेपछि धेरैलाई उनीप्रति शंका उत्पन्न भयो तर केहीले भने गुरुले भनेपछि हुन्छ भन्दै आफ्नो सम्पत्ति धमाधम चौधरीलाई दिन थाले । त्यही सम्पत्ति प्रयोग गरेर चौधरीले आफ्नो प्रचार–प्रसारमा मिडियासमेत परिचालन गरे । आफूले तोकेको मिति नजिकिँदै आएपछि उनी भाग्ने तरखरमा थिए तर केही युवाहरूले रंगेहात समाते । केहीले लछारपछार गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लियो । प्रहरी नियन्त्रणमै रहेका उनलाई एक जना संवाददाताले प्रश्न गरे, ‘तपाइ“ले घोषणा गर्नुभएको तिथि मितिमा प्रलय भएको खोइ त ?’ उनले प्रतिपश्न गरे–‘मलाई पहिले नै पक्राउ गरियो, अनि कसरी होस् त प्रलय ?’ उनको यो प्रतिपश्नपछि मात्रै अनुयायीले आफूहरू कसरी गुमरहमा परिएको रहेछ भन्ने थाहा पाए ।

युवा तपस्वी बम्जन पनि यही कोटीका ठग रहेछन् भने त्यसको जिम्मेवारी कसले लिने ? यो गम्भीर प्रश्न हो । यसका लागि राज्यले नीति नै ल्याउनु पर्छ । जसरी दैनिक पाँच सयभन्दा बढी भक्तजन पुग्ने मठ–मन्दिरमा सरकारले व्यवस्थापन समिति नै गठन गरी निगरानी गर्ने कानुन बनाएको छ त्यसरी नै धार्मिक तथा सांस्कृतिक रूपमा धेरै अनुयायी बनाउने व्यक्तिमाथि राज्यले सिधै निगरानी राख्नेगरी कानुन निर्माण गर्नुपर्छ । बम्जनकै उदाहरण लिऊ“ । यदि राज्यले समयमै निगरानी राखेको भए यस्तो विवाद हुने थिएन ।

प्रतिक्रिया