इस्वी संवत् र टोपी दिवस

मंगलबारदेखि इसाई संवतको नयाँ वर्ष प्रारम्भ भएको छ । सन् २०१८ समाप्त भई २०१९ आरम्भ भएको खुसीयालीमा विश्वभर उत्सव मनाइएको छ । विश्वमा निकै धेरै संवतहरू प्रचलनमा छन् । तर, इस्वी संवत्को प्रचलन सबैभन्दा धेरै देशमा छ । विश्वको सबैभन्दा ठूलो जनसंख्याले अपनाएका कारण तथा संयुक्त राष्ट्रसंघको क्यालेन्डर पनि इस्वी संवत्मै भएका कारण नयाँ वर्षको उत्सवबाट कुनै पनि मुलुक अछुतो छैनन् । नेपालमा पनि इस्वी संवत्को नयाँ वर्ष धुमधामका साथ मनाइएको छ । विगत केही वर्षदेखि पर्यटकीय नगरी पोखरामा इस्वी संवत्को नयाँ वर्षका अवसरमा सप्ताहव्यापी सडक महत्सव मनाउने प्रचलन सुरु गरिएको छ । यसपटक त पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवार पोखरा पुगेर इस्वी संवतको नयाँ वर्षको उत्सव समारोहमा थप रौनकता थपेका छन् । हाम्रो देशमा नेपाल संवत्का रूपमा आफ्नै मौलिक संवत् छ । राज्यले लामो समयदेखि उपेक्षा गरे पनि जनताले गर्ने धार्मिक तथा सांस्कृतिक क्रियाकलापका कारण नेपाल संवतले जीवन्तता पाइरहेको छ । सरकारी कामकाजका रूपमा विक्रम संवत् प्रचलनमा रहेको छ । इस्वी संवत् कुनै पनि समुदायमा प्रचलनमा छैन । तर, नेपालमा सबैभन्दा धुमधामका साथ इस्वी संवत् मनाउन थालिएको छ । किन होला ? भन्ने प्रश्न नउठेका होइनन् । विश्वव्यापीकरण नै यसको एक मात्रै कारण हो । एकातिर रोजगारी तथा अवसरको खोजीमा करिब २० प्रतिशत नेपालीहरू मुलुक बाहिर छन् भने अर्कातिर तीनतर्फ खुला सिमाना भएको छिमेकी मुलुकले लामो समयदेखि इस्वी संवतलाई अँगाल्दै आएको छ ।

इस्वी संवतको नयाँ वर्षका अवसरमा विगत पाँच वर्षदेखि टोपी दिवसले प्रवेश गरेको छ । बेलायतमा बस्ने केही नेपाली युवाहरू नयाँ वर्ष मनाउन लन्डनको एउटा पार्कमा जम्मा हुने गर्दथे, विभिन्न जातजाति तथा नश्लका नेपालीको संख्या थपिँदै गएको र दुई तीन पुस्ता बिताउनेहरूको संख्या पनि उल्लेख्य बढ्दै जान थालेकोले अनुहारले मात्रै नेपाली भनेर चिन्न सम्भव भएन । उनीहरूले नेपालीको पहिचानको प्रतिक ढाका टोपी लगाएर नयाँ वर्षको समारोहमा जाने निधो गरे । यसको देखासिखी युरोपका अन्य देश तथा अमेरिका र अस्ट्रेलियामा रहेका नेपाली युवाहरूले पनि गरे । जसको फलस्वरूप सन् २०१४ को जनवरी १ देखि विधिवत् रूपमै टोपी दिवस भन्न थालियो । जनवरी १ लाई अन्तर्राष्ट्रिय टोपी दिवसका रूपमा मनाउन जहाँ–जहाँ नेपालीहरू छन् त्यहाँ–त्यहाँ सञ्जाल विस्तार हुँदै गयो । टोपी दिवसले औपचारिकता पाएको पाँच वर्ष मात्रै भएको छ, तर यसको व्यापकताले नेपालका अन्य दिवसलाई समेत उछिनेको छ । विगत २–३ वर्षदेखि त नेपालमै पनि अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ । खासगरी, सामाजिक सञ्जालका कारण पनि टोपी दिवसले व्यापकता पाएको हो ।

इस्वी संवतको नयाँ वर्षलाई टोपी दिवसका रूपमा मनाउँदै गर्दा नेपालको मौलिक परम्परा तथा संस्कृतिमाथि आघात पर्ने त होइन ? भन्ने चिन्ता पनि कुनै कोणबाट प्रकट हुन थालेको छ । यो चिन्ता किन पनि स्वभाविक हो भने पहिलो कुरा त सांस्कृतिक तथा धार्मिक रूपमा नेपालको टोपी दिवस भनेको तिहारको भाइ टीकाको दिन हो । दिदी बहिनीले यमराजको टाउकोको प्रतीकका रूपमा ओखरलाई फोर्ने र आफ्ना दाजुभाईको टाउको रक्षाका लागि टोपी लगाइदिने धार्मिक तथा सांस्कृतिक परम्परा नेपालमा छ । इस्वी संवतको नयाँ वर्षको दिन मनाइने टोपी दिवसले हाम्रो मौलिक परम्परालाई ओझेलमा पार्ने त होइन ? भन्ने चिन्तालाई अन्यथा लिन मिल्दैन । त्यसैगरी, टोपीको प्रचलन नेपालको मधेसी समुदायभित्र छैन । नेपाली पहिचानका रूपमा टोपीलाई अघि सार्दा हामी छायाँमा पर्याैँ भन्ने तर्क मधेसी समुदायले गरेको पनि देखिन्छ । तर, इस्वी संवतको नयाँ वर्ष धुमधामसँग मनाउन हुने, टोपी लगाउन नहुने भन्ने तर्कमा खासै तुक देखिँदैन । टोपी भनेको टाउकोको सुरक्षा कवच पनि हो । स्वाथ्यको दृष्टिकोणले पनि टोपी लगाउनु फाइदाजनक छ । तर, भारतीय फिल्मका कलाकारहरूको देखासिखीमा टोपी नलगाउने प्रचलन नेपाली युवाहरूमा सुरु भएको धेरै पहिलेदेखि हो । भारतीय फिल्मको हिरोजस्तै देखिनका लागि टोपी नलगाउने प्रवृत्तिका कारण नेपाली परम्परा लोप हुने खतरा पनि बढेको थियो । यो खतरालाई अन्तर्राष्ट्रिय टोपी दिवसले केही हदसम्म रोक्न सक्छ ।

प्रतिक्रिया