आन्दोलनको तयारीमा कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी माघ पाँच गतेदेखि सरकारविरुद्ध दबाबमूलक आन्दोलन गर्ने तयारी गरेको छ । यसका लागि नेपाली कांग्रेसले सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ । जनआन्दोलन २०४६ सालको तयारीका लागि गरिएको राष्ट्रय भेलाको तिथि, मिति पारेर कांग्रेसले आन्दोलन गर्न लागेको हो ।

आगामी एजेन्डाका लागि कांग्रेसले महासमितिको बैठक सकिए लगत्तै छलफल आरम्भ गरेकोछ । आन्दोलनका एजेन्डा तथा स्वरूपका विषयमा परामर्श गर्न छलफल आयोजना गरिएको प्रवक्ता विश्वप्रकास शर्माले जनाएका छ । छलफलमा पार्टीका पदाधिकारीहरू सामेल छन् ।

पहिलो चरणमा मिडिया कर्मी, लेखक तथा बुद्धीजीविहरूसँगको छलफल सम्पन्न भइसकेको छ । दोस्रो चरणमा विभिन्न पेसाकर्मी तथा पेसासँग सम्बन्धित संघ संस्था र तेस्रो चरणमा नागरिक समाजका अगुवाहरूसँग छलफल गरी पुसको अन्तिम साता केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको समाचार स्रोतले जनाएको छ ।

एक केन्द्रीय सदस्यले भने, ‘उक्त बैठकले नै आन्दोलनका एजेन्डा तथा स्वरूप तय गर्नेछ ।’ आन्दोलन सरकार ढाल्नका लागि नभएर गल्ती सच्याउन दबाब दिने उद्देस्यका साथ अघि बढाउन लागिएको उनले बताए ।

निर्माला पन्तको हत्या तथा बलत्कार प्रकरणका अपराधीहरूलाई सरकारले बचाएको, वाइडबडी बिमान खरिद प्रकरणमा पौने सात अर्ब रूपैंया भ्रष्टाचार गरिएको, नेपाल टेलिकमको फोरजी सेवा प्रवाह कार्यक्रममा २३ अर्ब रूपैयाँ हिनामिना गर्न लागिएको, निर्माण व्यवसायीलाई घुस मागेर हैरान गरिएको लगायतका मुद्दा उठाउने तयारी कांग्रेसले गरेको छ ।

साथै संघीयताको कार्यान्वयन तथा तराई मधेसका माग सम्बोधन हुनेगरी संविधान संसोधनका लागि दबाव दिने तयारी पनि नेपाली कांग्रेसले गरेको छ । तर आन्दोलनको स्वरूपमा सन्दर्भमा भने अन्योलता बाँकी नै रहेको बुझिएको छ । बन्द हड्ताल जस्ता परम्परागत आन्दोलनले जनतालाई थप समस्या पर्ने र जनता भड्किन सक्ने भन्दै लेखक तथा बुद्धीजीविहरूले आन्दोलनको नयाँ स्वरूप ल्याउन सुझाव दिएका छन् ।

पोस्टर, पाम्लेटिङ, रिले अनशन जस्ता प्रचारात्मक कार्यक्रम अघि सार्दा जनताले साथ दिने सुझाव एकथरीको छ भने अर्काथरीले सडक अवरुद्ध गरी जनजीवन ठप्प नपारेसम्म सरकारले आफ्ना गल्ती नसच्याउने भन्दै कडा खालको आन्दोलन गर्न सुझाव दिएका छन् । साथै आगामी चुनाव जित्ने मार्गचित्र तयार गर्न, नयाँ मतदातालाई सन्देश दिन, राजनीतिक कार्यदिशा स्पष्ट गर्न, आफ्ना गल्तीको इमान्दारीपूर्वक समीक्षा गर्न, जनतासँग संवाद गर्न, संघीयता र धर्मनिरपेक्षताबाट पछि नहट्न, मुलुकको समृद्धिको नेतृत्व गर्न तथा गैसस र अन्तरराष्ट्रिय गैससबाट प्रभावित नहुन सुझाव दिएका थिए ।

उक्त अवसरमा पार्टीका नेताहरूले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरे । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने उपसभापति विमलेन्द्र निधिले बताए । पार्टीले दलित, जनजाति, मधेसी, महिला, अल्पसंख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको पनि उनले बताए ।

समाचारस्रोतका अनुसार समयमै महाधिवेशन गर्न पार्टी भित्रैबाट दबाव सुरु हुन सक्ने संभावनालाई ख्याल गर्दै सभापति देउवाले कुनै हालतमा पनि पार्टीलाई आन्दोलनमा होम्ने रणनीति बनाएका हुन् । पार्टी आन्दोलनमा होमिइसकेपछि आँफू विरुद्धको आन्तरिक अक्रमण कमजोर हुने र आफ्नो म्याद एक वर्ष थप्ने रणनीति स्वतः कार्यान्वयन हुने जोडघटाउमा सभापति देउवा छन् ।

तर, इतर पक्षले भने समयमै महाधिवेशन गराउनुपर्ने मुद्दालाई जारी राख्ने भएको छ । मंगलबार प्रभावशाली केन्द्रीय सदीय डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन समयमै गर्न दबाब दिने बताए । नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘अबको तीन वर्ष पछि स्थानीय चुनाव आउँदैछ , चार वर्षपछि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन आउँदैछ , हामीले विधानद्धारा निर्धारित मिति अर्थात अबको १४ महिनाभित्र महाधिवेशन गराएनौँ भने अबको चार वर्षभित्र हुने तीन वटा ठूला निर्वाचनका लागि तयारी समय पुग्दैन ।’

नेता कोइरालाले पार्टीको आन्तरिक चुनाव गराउँदा स्वभाविक रूपमा हुने आपसको मनमुटाव ताजा भएकै वेला विपक्षीसँगको चुनावमा होमिँदा अन्तरघातको सम्भावना बढ्न सक्ने बताउँदै भने, ‘१४ महिनाभित्र महाधिवेशन गरायौँ भने स्थानीय चुनावका लागि तयारी गर्न २ वर्षको मौका पाउँछौं , यो दुई वर्षभित्र आन्तरिक चुनावको तुस मेटिइसक्छ ।’

विधान संसोधनका क्रममा उपसभापति तथा महामन्त्रीहरूको संख्या ३–३ पु¥याउने इतर पक्षको अडान तुहिए पछि संस्थापन पक्षले ठूलो राहत महसुस गरेको छ । संस्थापन पक्षका एक नेताले भने, ‘आगामी महाधिवेशनमा पौडेल, सिटौला र कोइराला पक्ष एक ठाउँमा उभिन सक्ने सम्भावना टरेको छ, चुनाव जित्ने हामीले नै हो निर्धारित मितिमै महाधिवेशन गराउँदा पनि केही फरक पर्दैन ।’ निर्धारित मितिमा महाधिवेशन गराउन ठूलै दबाब आयो भने त्यसबाट सभापति देउवा पछि नहट्ने उनले बताए ।

उनले भने, ‘इतर पक्षमा सभापति पदका लागि मात्रै होइन , उपसभापति ,महामन्त्री तथा सहमहामन्त्रीमा उम्मेद्वार बन्न पनि मारामार हुने अवस्था छ, कुनै पनि हालतमा भागबण्डा मिलाउन उनीहरूले सक्दैनन् तर हाम्रो पक्षमा कुनै समस्या छैन, सभापति देउवाले तिमी यो पदमा चुनाव लड, तिमी अहिले चुप लाग भनेर निर्देशन दिएपछि उल्लंघन गर्ने ताकत कसैको छैन ।’

प्रतिक्रिया